• १२ असार २०८१, बुधबार

अर्थमन्त्री शर्माद्वारा मतदान

blog

मतदान गर्नुहुँदै अर्थमन्त्री शर्मा । तस्बिर : राजु लामिछाने

रुकुम पश्चिम, वैशाख ३० गते । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनको लागि मतदान गर्नुभएको छ । अर्थमन्त्री शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ को यमुना नन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । 

उहाँले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो । ७ बजेदेखि मतदान सुरु भएको र त्यसको लगत्तै मन्त्री शर्मा मतदान गरेर फर्किएको उहाँले बताउनुभयो । यस मतदान स्थलमा २ वटा मतदान केन्द्रहरु रहेका छन् । जसमा मतदाता संख्या १४ सय ५२ रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेश सभा सदस्यद्वय गोपाल शर्मा र रातो कामीले पनि मतदान गर्नुभएको छ । शर्माले चौरजहारी नगरपालिका ५ स्थित निमावि खहरेमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो भने कामीले आठबिसकोट नगरपालिका ११ स्थित नेपाल राष्ट्रिय मावि गत्तासैनामा मतदान गर्नुभएको हो । 

कर्णाली प्रदेश सरकारका पूर्व कृषि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक बिमला केसीले जिल्लाको सानीभेरी गाउँपालिका ९ स्थित राप्ति ज्ञानोदय माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । 

जिल्लाभर उत्साहपूर्वक मतदान भैरहेको छ । जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले रुकुम पश्चिमका सबै मतदान केन्द्रमा शान्तपूर्वक समयमै मतदान सुरु भएको जनाउँनुभयो । मतदान गर्नको लागि बिहान ५ बजे देखि नै जिल्लाका कतिपय मतदान केन्द्र मा मतदाताहरु लाईनमा लागेको बताईएको छ । 

रुकुम पश्चिममा कुल एक लाख चार हजार चार सय ८२ जना मतदाता छन् । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि ७६ मतदान स्थल र एक सय ३९ वटा मतदान केन्द्र तोकिएका छन् ।

Author

राजु लामिछाने