काठमाडौं महानगरमा बालेनको अग्रता जारी
काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह १५७५ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । आइतबार बिहान ८:०० बजेसम्मको मतगणनामा नेकपा एमालेका केशव स्थापितले ९८५, नेपाली कांग्रेसककी सिर्जना सिंहले ८२५ मत प्राप्त गर्नुभएको छ ।
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त भएको छ । हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी छ । हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ ।
खार्पुनाथ गाउँपालिकामा काँग्रेसका रावल विजयी
खार्पुनाथ गाउँपालिकामा गठबन्धन दलकातर्फबाट नेपाली काँग्रेसका कर्णबहादुर रावल विजयी हुनु भएको छ । उक्त गाउँपालिकाका सबै निर्वाचित पदमा गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनु भएको हो ।
धरान उपमहानगरपालिकामा काँग्रेसको अग्रता
धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार उहाँले एक हजार ३४० प्राप्त गर्नुभएको छ । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गर्नुभएको छ ।
अर्घाखाँचीमा १६ वडाको मत परिणाम सार्वजनिक
नेपाली काँग्रेसले ८ स्थानमा वडाध्यक्षमा विजयी हुँदै हालसम्म पहिलो स्थानमा छ । नेकपा एमालेले ६ स्थानमा विजय हासिल गदै द्रोसो स्थानमा रहेको छ ।
ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा काँग्रेसको अग्रता
ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा ९एमाले०की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ । मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ । कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाउनुभएको छ ।
सुनकोशी–१ मा गठबन्धनको प्यानल विजयी
सुनकोशी गाउँपालिका–१ ओखलढुङ्गामा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनको वडा अध्यक्षका उम्मेदवार प्रकाश सापकोटाको प्यानल विजयी भएको हो ।
बढे मतदाता, घट्यो मतदान
दोस्रो पटकको स्थानीय तह निर्वाचनमा मतदाता सङ्ख्या वृद्धि भए पनि मतदान गर्ने दर भने अपेक्षाकृत वृद्धि हुन सकेन । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा कुल मतदातामध्ये ६४ प्रतिशत मतदाताले मात्र मतदान गरेका छन् ।
भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै
चितवन, जेठ १ गते । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राख्नुभएको हो । दुई हजार ९६८ मत गणना गर्दा उहाँले ९८ मतले अग्रता कायम राख्नुभएको छ ।दाहालले एक हजार १०५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का विजय सुवेदीले एक हजार सात मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गर्नुभएको हो । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली काँग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत पाउनुभएको छ ।यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली काँग्रेसका केशव महर्जनले एक हजार २४४ र एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार १९९ मत प्राप्त गर्नुभएको छ ।गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा एमालेले अग्रता कायम गरेको छ ।
डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेसका साउद विजयी
डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको हो ।नेपाली कांग्रेसका उम्मेदवार भैरब बहादुर साउद २ हजार ३ सय ४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।
नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले तीन हजार २०० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।
मतगणना स्थलमा थप सुरक्षा
स्थानीय तह निर्वाचनको मतगणना स्थलको सुरक्षा व्यवस्था यस वर्ष थप व्यवस्थित गरिएको छ । मतगणक र सुरक्षाकर्मीबाहेक पार्टी प्रतिनिधि, उम्मेदवार र पर्यवेक्षकलाई घेरबारबाहिर बस्ने व्यवस्था गरिएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ अनुसार मतगणना स्थलमा सहज पहँुचको व्यवस्था गर्दा सुरक्षा चुनौती बढेकाले ७७ वटै जिल्लाको ७५३ वटा स्थानीय तहको मतगणना स्थलमा तारजालीसहितको घेरबार लगाउन सकिने व्यवस्था गरेको छ ।
वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंहको अग्रता
मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ७५ मतसहित सुरुआती अग्रता कायम गर्नुभएको छ।
प्रधानमन्त्री देउवाको गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गाउँपालिक अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
परशुराम नगरपालिका–२ मा कांग्रेस प्यानलसहित विजयी
पुष्कर भण्डारीडडेल्धुरा, वैशाख ३१ गते । भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–२ मा नेपाली कांग्रेस बाट वडा अध्यक्षका उम्मेदवार प्यानलसहित विजयी हुनुभएको छ । वडा अध्यक्षका उम्मेदवार रमेश बोहरा प्यानल सहित विजयी हुनुभएको हो । उहाँले २८३ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय जोगबुडाले जानकारी दिएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २२९ मत प्राप्त गर्नु भएको थियो । कांग्रेसले यस वडामा विजयी भएसँगै नगर प्रमुखका उम्मेदवारले समेत अग्रता लिनुभएको छ । वडा नं. १ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित हुदा कांग्रेस बाट नगरप्रमुखका उम्मेदवार माओवादी भन्दा पछी पर्नुभएको थियो । वडा नं. २ मा कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार रहनु भएका भरत बडाएर जोशीले ३१९ मत प्राप्त गर्नु भएको छ । कांग्रेसका उपप्रमुखले ३०३ मत प्राप्त गर्नु भएको छ । यस्तै माओवादीका नगरप्रमुखले २०३ र उपप्रमुखले १९१ मत प्राप्त गर्नु भएको छ । वडा नं. १ बाट माओवादीका प्रमुख र उपप्रमुखले समान ५२८ मत प्राप्त गर्नु भएको थियो भने नेपाली कांग्रेसका प्रमुखले ४५२ र उपप्रमुखले ३६७ मत प्राप्त गर्नु भएको थियो । अहिले कांग्रेसका उम्मेदवारले कूल प्राप्त गर्नुभएको मतको संख्या ७७१, उपप्रमुखका ६७१ पुगेको छ । यस्तै माओवादी केन्द्रका प्रमुखले ७३० र उपप्रमुखले मत ७१९ पुगेको छ ।
ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता
ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ।
दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको निर्णय
मतदानका दिन हिजो उदयपुरको कटारी नगरपालिका –१० मा एकजनाको ज्यान जानेगरी फायर खोल्ने प्रहरीमाथि छानविन गरी दोषीलाई निलम्बनसहितको कारवाही अगाडी बढाउने भएको छ ।
भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता
भक्तपुर जिल्लाको चार वटै स्थानीय तहमध्ये भक्तपुर नगरपालिका प्रमुखमा र उपप्रमुखमा नेपाल मजदुर किसान पार्टीको ठूलो मतान्तरका साथ अग्र स्थानमा छ।
लमजुङको मस्र्याङदी–१ मा एमालेको प्यानलै विजयी
नेकपा एमालेले लमजुङमा खाता खोलेको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका १ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएका छन् । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याउनुभएको छ ।
दैलेखका १० वडाको मतपरिणाम सार्वजनिक
दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडा मध्ये १० वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले चार, एमालेले चार माओबादी केन्द्रले एक र नेपाल मजदुर किसान पार्टीले एक वडामा विजयी भएको छ ।
काठमाडौं महानगरमा शाह अगाडि : स्थापित र सिंह पछाडि
काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह ४०२ मतसहित पहिलो स्थानमा हुनुहुन्छ।
भरतपुर महानगरपालिकामा दाहालको अग्रता
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ।
मतगणनास्थलमा कडा सुरक्षा
झापाका १५ वटै स्थानीय तहमा कडा सुरक्षाघेरा भित्र मतगणना जारी छ।
हुम्ला खार्पुुनाथ–१ को वडा अध्यक्षमा शाही विजयी
स्थानीय तह निर्वाचनमा खार्पुनाथ गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका जयबहादुर शाही निर्वाचित हुनुभएको छ । नेकपा एमालेका हिरालाल जैसीलाई पछि पार्दै शाही वडा अध्यक्ष पदमा बिजयी हुनु भएको हो ।