• २ असार २०८१, आइतबार

मतगणना स्थलमा थप सुरक्षा

blog

काठमाडौँ,जेठ १ गते । स्थानीय तह निर्वाचनको मतगणना स्थलको सुरक्षा व्यवस्था यस वर्ष थप व्यवस्थित गरिएको छ । मतगणक र सुरक्षाकर्मीबाहेक पार्टी प्रतिनिधि, उम्मेदवार र पर्यवेक्षकलाई घेरबारबाहिर बस्ने व्यवस्था गरिएको छ । 

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ अनुसार मतगणना स्थलमा सहज पहुँचको व्यवस्था गर्दा सुरक्षा चुनौती बढेकाले ७७ वटै जिल्लाको ७५३ वटा स्थानीय तहको मतगणना स्थलमा तारजालीसहितको घेरबार लगाउन सकिने व्यवस्था गरेको छ । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले विगतमा भएका सुरक्षा कमीकमजोरी, मतगणक जनशक्तिको अभाव र मर्यादित तथा संयमित व्यक्तिको अभावका कारण यस वर्षदेखि मतगणना स्थलमा तारजालीसहितको घेरबार व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटक मतगणना स्थलको सुरक्षा व्यवस्था थप व्यवस्थित पारिएको छ । मतगणना स्थलमा सबैको सहज पहुँच नहुँदा मतपत्र चोर्ने, लुकाउने, च्यात्ने, मसी छर्किने र चपाउने घटना दोहोरिँदैनन् ।”

मतगणना स्थलमा सुरक्षा व्यवस्थापनको  कमी छैन, घेरबार बाहिर–भित्र २४ घण्टा सुरक्षाकर्मी परिचालन गरिएको छ । पार्टीका प्रतिनिधि, उम्मेदवार, पर्यवेक्षकलगायत सम्बद्ध अधिकारीलाई घेरबारबाहिर बसेर प्रत्यक्ष रूपमा अवलोकन गर्ने व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभयो । 

यसअघि मतगणकबाहेकका व्यक्तिको पनि मतपत्र गणना स्थलमा सहजै पहुँच तथा मतपत्र नछोए पनि नजिकै बसेर हेर्न मिल्ने अवस्था हुन्थ्यो । यस पटक हेर्न मिल्नेछ तर गलत क्रियाकलाप गर्नबाट बन्देज लगाइएको छ । 

मुलुकको पहाडी जिल्लामा भन्दा तराईको जिल्लाको मतगणना स्थल बढी असुरक्षित हुने भएकाले सरकारले नै सबै जिल्लाको स्थानीय तहलाई घेरबारसहितको सुरक्षित मतगणना स्थल निर्माण गर्न निर्देशन दिएको हो । 

महानगरपालिका र उपमहानगरपालिकामा तारजालीसहितको घेरबार मात्र नभई सीसी क्यामराबाट प्रत्यक्ष निगरानीको व्यवस्था मिलाइएको छ तर जनशक्तिको अभावमा गणनामा ढिलाइ भइरहेको गुनासो उम्मेदवारहरूको छ । कतिपय उम्मेदवार तथा पार्टी प्रतिनिधिले तारजालीसहितको घेरबार मतदान स्थलले थप शङ्का गर्ने वातावरण सिर्जना गरेको बताएका छन् । यसअघि पनि पार्टी प्रतिनिधि साक्षीका रूपमा मात्र सहभागी हुँदै आएका थिए । मतपत्र पट्याउने तथा गणना गणकले मात्र गर्न पाउने व्यवस्था छ । 

निर्वाचन सम्पन्न भई मत परिणामको पर्खाइमा रहेका मतदाताको अमूल्य मतदानमाथि खेलबाड नहोस्, सुरक्षा व्यवस्थाको कमजोरीले पुनः मतदान गर्नुपर्ने अवस्था नआओस् भन्नका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन सक्ने भनाइ पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराको छ । 

उहाँले भन्नुभयो, “मैले पनि पहिलो पटक मतगणना स्थलमा तारजालीसहितको घेरबार भएको कुरा सुने । पाँच वर्षअघि चितवन भरतपुरमा भएको घटनाले सबैलाई तर्सायो । उम्मेदवारका प्रतिनिधि, उम्मेदवार, नेता र कार्यकर्ताको मतगणना स्थलमा सहज पहुँच हुँदा सुरक्षा चुनौती बढ्छ ।” बदमासी हुनबाट रोक्नलाई यस्तो सुरक्षा व्यवस्था अपनाइएको हुन सक्छ । यसमा विवाद गर्नुपर्ने ठाउँ छैन । उहाँले थप्नुभयो, “मतदानसँगै मतगणना पनि सुरक्षित ढङ्गले सम्पन्न गर्नु सरकारको दायित्व हो ।” –देवबहादुर कुँवर