यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) मंसिर १२ गते । बर्दियामा चितुवाको आक्रमणबाट एकको मृत्यु भएको छ । गबारबर्दिया नगरपालिका वडा नं ११ बेलभार बस्ने ५९ वर्षीया गोपी थारूको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
काला बेलभार सामुदायिक वनमा घाँस काट्न जाने क्रममा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि सँगै घाँस काट्न गएका साथीहरू भागेका थिए ।
पछि सामुदायिक वनमा खोजबिन गर्दा मृत्यु भएको अवस्थामा थारूको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत शिव बहादुर केसीले बताउनुभयो ।
सँगै घाँस काट्न गएका मध्ये दुई जना महिला भाग्ने क्रममा घाइते भएका छन् ।घाइते हुनेमा बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी इन्दिरा दहित र मनिषा दहित रहेका छन् ।
उनीहरूको बारबर्दिया नगर अस्पतालमा उपचार पश्चात् घर फर्केको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताउनुभयो ।
चितुवा नियन्त्रणमा लिनका लागि पासो सहित प्रहरी र वन कार्यालयका प्राविधिक टोली पठाइएको वरिष्ठ वन अधिकृत केसीले बताउनुभयो । बर्दियामा चितुवाको आक्रमणबाट मृत्यु हुने र घाइते हुने क्रम बढ्दै गएको छ ।