स्थानीय तह निर्वाचनको मतगणना स्थलको सुरक्षा व्यवस्था यस वर्ष थप व्यवस्थित गरिएको छ । मतगणक र सुरक्षाकर्मीबाहेक पार्टी प्रतिनिधि, उम्मेदवार र पर्यवेक्षकलाई घेरबारबाहिर बस्ने व्यवस्था गरिएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ अनुसार मतगणना स्थलमा सहज पहँुचको व्यवस्था गर्दा सुरक्षा चुनौती बढेकाले ७७ वटै जिल्लाको ७५३ वटा स्थानीय तहको मतगणना स्थलमा तारजालीसहितको घेरबार लगाउन सकिने व्यवस्था गरेको छ ।
स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् । मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशीलको सूचीमा छन् ।