• २६ फागुन २०८१, सोमबार

ठाउँमै पुर्‍याउने “कता हो ?”

blog

ठेगाना प्रणालीले कुनै पनि ठाउँको पहिचान गर्नका लागि प्रयोग गरिने औपचारिक तरिकालाई जनाउँछ । यसको मुख्य उद्देश्य भनेकै मानिस, स्थान र वस्तुलाई एकअर्कासँग जोड्न सहयोग पुर्‍याउनु हो तर आधुनिक समाजको विकास, प्रविधिको प्रयोग र बढ्दो शहरीकरणसँगै ठेगाना प्रणाली हराउन थालेको छ । 

काठमाडौँमा बसोबास गर्ने जोकोहीलाई आफन्त तथा छरछिमेकी बसेको घर तथा स्थानको ठेगाना पत्ता लगाउन हम्मे हम्मे पर्ने गर्छ । कतिसम्म भने ‘फलानो ठाउँमा आएर फोन गर्नु’ भन्नुपर्ने अवस्था छ । 

बढ्दो शहरीकरण र अव्यवस्थित बसोबासका कारण ठेगाना सजिलै पत्ता लगाउन समस्या छ । आधुनिक ठेगाना प्रणालीको अभावमा फोनकै भरमा मठमन्दिर, सडक गल्ली, चोक, रुख, भवन र खोला आदिको पहिचान खुलाएर गन्तव्यमा पुग्नुपर्ने अवस्था छ ।

विशेष गरी घनाबस्ती भएका शहरी क्षेत्रमा घर वा कार्यालय, भवन, सडक गल्ली पत्ता लगाउन अफ्ठ्यारो हुने गर्छ । बाटोमा हिँड्दै गरेका बटुवासँग बाटो सोधेर वा फोन गरेर कुनै पनि स्थान पहिल्याउनु पर्छ । 

सुन्दा सामान्य लाग्ने यस्तो समस्याबाट आमनागरिक पिरोलिने गरेका छन् । यसको उपाय डिजिटल संसारले निकालेको छ । काठमाडौँ उपत्यकालगायत विभिन्न नगरपालिका तथा गाउँपालिकामा विद्यमान ठेगाना प्रणालीसम्बन्धी समस्या समाधान गर्न डिजिटल ठेगाना प्रणाली ‘कता हो ?’ सञ्चालनमा आएको छ । 

ठेगाना प्रणाली ‘कता हो ?’

ठेगाना पत्ता लगाउन देखिएको गाह्रो अवस्थालाई सहज र सरल बनाउने प्रत्याभूति गरेको छ, डिजिटल ठेगाना प्रणाली ‘कता हो ?’ एपले । एडे«स ग्राफ नेपाल प्रालिले एक वर्षअघिबाट सञ्चालनमा ल्याएको यो एप ठेगाना पत्ता लगाउने सजिलो माध्यम बनेको छ ।

मोबाइल फोनमा एप डाउनलोड गरी स्थानको ठेगाना समावेश गरेमा घर, भवन र कार्यालय मात्र नभई व्यक्तिलाई समेत सजिलै भेट्न सकिन्छ । जुन सेवा निःशुल्क उपलब्ध हुन्छ । एपमा समावेश कोड नम्बर (डिजिटलसहितको ठेगाना नम्बर) सहित सङ्केत (एरो) का आधारमा सजिलैसँग गन्तव्यमा पुग्न सकिन्छ ।

गोश्वारा हुलाक कार्यालय प्रमुख वासुदेव रेग्मीको भनाइमा “मेट्रिक प्रणालीभन्दा डिजिटल ठेगाना प्रणाली ‘कता हो ?’ धेरै राम्रो छ । यसलाई जनस्तरमा पुर्‍याउन जरुरी छ ।”

प्रविधिसँग समाजलाई जोड्दै आएका एडे«स ग्राफ नेपालका सञ्चालकद्वय रिमाल दाजुभाइ राम र लक्ष्मणले गरेको मेहनत धेरै राम्रो छ । रेग्मीका अनुसार यो प्रणाली प्रत्येक नागरिकको घर घरसम्म पुर्‍याउन सकेमा हुलाकका कर्मचारी चिठीपत्र बोकेर सजिलै घर घरमा पुग्न सक्ने छन् ।

हुलाकले परम्परागत ठेगाना प्रणालीका आधारमा फोन र सडक, चोक तथा चौतारो पहिचान गरी घरसम्म सेवा दिने गरेकाले निकै झन्झटिलो र खर्चिलो छ । यसको विकल्पका रूपमा ‘कता हो ?’ डिजिटल ठेगाना प्रणाली उपयुक्त विकल्प हुने विश्वास गरिएको छ ।

गत वर्ष माघबाट सञ्चालनमा आएको डिजिटल ठेगाना प्रणालीमा हाल ४० हजार नागरिक जोडिएका छन् । काठमाडौँको तारकेश्वर, झापाको कनकाई, कालीकोटको रासकोट नगरपालिका, गोरखाको भीमसेन थापा, कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका र काठमाडौँ महानगरपालिका–२६ वडामा ‘कता हो ?’ डिजिटल ठेगाना प्रणाली लागू गरिएको छ ।

यो गुगल म्यापको सहयोगमा तयार पारिएको सजिलो ठेगाना प्रणाली भएको दाबी गरिएको छ । सशस्त्र प्रहरी बलले विपत् व्यवस्थापन तथा गोश्वारा हुलाक कार्यालयले चिठीपत्र आदानप्रदानका लागि यसको प्रयोगका लागि सम्बन्धित मन्त्रालयसँग अनुमतिको माग गरेको छ ।

कसरी काम गर्छ ?

प्रश्नवाचक चिह्न लोगो रहेको एप डाउनलोड गर्नेबित्तिकै कोड नम्बरसहितको ठेगाना देखाउँछ (जस्तै ०९ वृक्ष गाथा ३९२७), तलपट्टि गुगल प्लस कोड पनि देखिन्छ र लक्षित स्थानलाई सङ्केत गर्छ । यही कोड नम्बरका मद्दतले कुनै पनि स्थानमा सजिलै पुग्न सकिन्छ ।

यस एपको स्पिकरमा उल्लेखित कोड नम्बर बोलेर पनि ठेगाना दिन लिन सकिन्छ । लक्ष्मणका अनुसार एपमा देशको सम्पूर्ण भूभागलाई करिब १५ अर्ब दुई करोड प्लट (टुक्रा) मा विभाजन गरी हरेक भागका लागि नेपाली शब्द र अङ्क मिलाएर एउटा भिन्न नाम दिइएको छ ।

यसरी तयार गरिएका नाम नदोहोरिने र सामान्य व्यक्तिले सम्झिने गरी राखिएका छन् । कोड नम्बर लामो भए पनि सुरुमा अङ्क, अक्षर पुनः अङ्कसहितको ठेगाना हुन्छ । जस्तै ०९ लक्ष्य उत्तम ७५९९ सँगै प्रश्न चिह्नसहितको ठेगाना देखिन्छ ।


बाक्लो बस्तीका बीचमा रहेको घर, भवन, कार्यालय वा व्यक्ति मात्र होइन घना वन वा उच्च हिमाली क्षेत्रमा हराएका व्यक्तिको खोजी गरी ठेगाना पहिचानपछि उद्धार गर्न पनि यसले सजिलो हुने देखिन्छ ।

ठेगाना बनाउन वा पत्ता लगाउन यो प्रणालीले अफलाइनमा समेत काम गर्छ भने जोसुकैले आफ्नो घरको ठेगाना ‘प्लेट’ आफैँले बनाई टाँस्न सक्छन् । त्यो स्थानबाट अलि वरपर सरेमा भने एपले अर्को कोड नम्बर देखाउँछ । यसका लागि आफ्नो कोड नम्बर घरको भित्तामा टाँस्दा सम्झिन समस्या हुँदैन ।

विपत्को साथी

विपत्का बेला यो एपसँग जोडिएका छरछिमेकी, प्रहरी, दमकल, स्थानीय आकस्मिक उद्धार केन्द्रलाई सूचना आदानप्रदान गर्न सकिन्छ । 

आपत्विपत् परिहालेमा एपमा रहेको ‘बेल’ थिचेर सहयोग माग्न सकिन्छ ।

“सर्वसाधारण नागरिक, उपभोक्ता वा व्यवसायीले ‘कता हो ?’ एपको सहयोगमा सबै सुविधा निःशुल्क प्रयोग गर्न सक्छन्,” राम भन्छन् ।

सरकारी कार्यालय, स्थानीय तह, टोल तथा समुदायले राखेका घर नम्बरसमेत यो डिजिटल ठेगाना प्रणालीमा समावेश गर्न सकिन्छ । हुलाक सेवा विभागले पनि अन्य ठेगाना प्रणालीभन्दा ‘कता हो ?’ केही सहज भएको जनाएको छ ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनका अनुसार परम्परागत ठेगाना प्रणाली प्रभावकारी नभएपछि एडे«स ग्राफ नेपालसँगको सहकार्यमा डिजिटल ठेगाना प्रणाली राख्ने अभियान सुरु भएको छ ।

‘कता हो ?’ एपसँग जोडिएका नगरवासीले विपत्, जोखिमदेखि चोरी डकैती, लुटपाट, आगलागी दुर्घटनालगायत विभिन्न समस्याबाट जोगिन एपमा रहेको बेल बजाएर सूचना दिन सक्ने व्यवस्था छ ।

वन, हिमाली क्षेत्र वा कहीँकतै कोही एक्लो परेको अवस्थामा उद्धार सहयोगका लागि यो एप प्रयोग गर्न सकिन्छ । आपत्कालीन सेवा, सार्वजनिक सेवा, होम डेलिभरी, राइड सेयरिङ तथा सरकारी कामकाजका लागि समेत यो सहज हुने देखिन्छ ।

ठेगाना अनिवार्य छ

केन्द्र तथा प्रदेश सरकार वा स्थानीय तह कुनै पनि सरोकारवाला निकायले सरल, सहज र स्पष्ट ठेगाना प्रणाली राख्न नसक्दा सेवाग्राहीसमेत अलमलमा पर्ने गरेका छन् । व्यक्तिगत घर तथा भवन त परै जाओस् कतिपय अवस्थामा सरकारी कार्यालय पत्ता लगाउन पनि फोनकै भर पर्नुपर्ने बाध्यता छ ।

हुलाकपछि संस्थागत विकास 

परापूर्वकालमा राजा महाराजाको दरबारबाट आएका सूचना, सन्देश र समाचार आदानप्रदान गर्न परेवा, बाज, घोडा जस्ता पशुपन्छीको प्रयोग हुने गर्दथ्यो ।

तर सूचना आदानप्रदानको संस्थागत विकास भने हुलाक स्थापनासँगै भयो । चिठीपत्रमा प्रेषक र प्रापक दुवै पक्षको ठेगाना अनिवार्य खुलाउनैपर्ने भएकाले ठेगाना प्रणालीको विकास गरिएको मान्न सकिन्छ ।

विश्वमा सन् १६६० मा बेलायतका तत्कालीन राजा चाल्र्स द्वितीयले ‘पोस्ट अफिस’ स्थापना गरी सम्बन्धित व्यक्तिको घर, भवन कार्यालय वा ठेगानामा सूचना वा खबर पुर्‍याउने चलन बसाइएको देखिन्छ । नेपालको सन्दर्भमा भने तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा १९३५ सालमा नेपाल हुलाकघरको स्थापना भएको थियो ।

ठेगानामा बेलायती मोडल

ठेगाना प्रणालीका लागि बेलायतको मोडललाई विश्वम उत्कृष्ट मानिएको छ । ब्लक नम्बर र घर नम्बर राख्ने चलन बेलायतको ठेगाना प्रणाली हो । बेलायतले शहरीकरणसँगै शहर, सडकको नामकरण गर्ने तथा सडकको दायाँ पर्नेलाई जोर र बायाँ पर्नेलाई बिजोर अङ्क दिएर बाटोको नाम राखेको छ ।

यो प्रणालीमा सडकको नामसहित दाहिनेतर्फ पर्ने कित्तालाई जोर र देब्रेतर्फ बिजोर नम्बर दिने गरिन्छ । यसमा दाहिने–देब्रे कुनलाई मान्ने भनेर छुट्याउन सडकको दिशालाई लिइन्छ ।

सडक उत्तर–दक्षिण छ भने उत्तरतिर फर्किने र पूर्व–पश्चिम सडकमा पश्चिमतर्फ फर्किंदा दायाँ वा बायाँ हातलाई यसको आधार बनाइएको छ । रामका अनुसार बेलायतको जस्तो ठेगाना प्रणाली बनाउने कार्यबाट नेपाल धेरै पछि परिसकेको छ । अब बन्ने नयाँ सडक, शहर र प्लटिङमा त्यो ठेगाना प्रणाली प्रभावकारी हुन सक्छ ।

मेट्रिक ठेगाना प्रणाली अलपत्र

२०५७ सालमा काठमाडौँ उपत्यका म्यापिङ प्रोग्राम परियोजनाले वैज्ञानिक ठेगाना प्रणालीको विकास गर्न मेट्रिक ठेगाना प्रणाली लागू गरेको थियो । यो प्रणाली अनुसार सडक–गल्ली, चोक, ब्लक नम्बर र घर नम्बर राख्न थालियो पनि ।

हाल यो ठेगाना प्रणाली कार्यान्वयनमा छैन । भक्तपुरस्थित ख्वप इन्जिनियरिङ कलेज र ठेगाना एपले पनि डिजिटल ठेगाना प्रणाली सुरु गरेको थियो । उक्त एपले ‘लोकेसन’ मात्र देखाउने भएकाले प्रभावकारी हुन सकेन । त्यसअघि २०३० सालतिर पनि सडक, गल्ली र चोकलाई विभिन्न नाम दिएर ब्लक नम्बरका आधारमा घर नम्बर राख्ने व्यवस्था लागू गरिएको थियो । 

गोश्वारा हुलाक कार्यालयले सोही आधारमा चिठीपत्र आदानप्रदान गर्ने गरेको इतिहास छ ।

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा वीरगन्ज महानगरपालिकाले हालसालै डिजिटल ठेगाना प्रणाली सुरु गरेको छ । सडक, चोक र मिलनविन्दु (दोबाटो र चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाइ) का आधारमा ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली त्यहाँ कार्यान्वयनमा छ ।उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा घर घरमा नम्बर प्लेट राखिने गरिएको छ । 

 –युवामञ्च