• ७ साउन २०८२, बुधबार

अभिव्यक्तिको “थलो” माइतीघर

blog

काठमाडौँको एक परिचित स्थान हो काठमाडौँ महानगरपालिका वडा नम्बर–११ मा अवस्थित ‘माइतीघर’ । गाउँको आवाज सिंहदरबारले नसुनेको गुनासो पोख्न माइतीघर पुग्नेको लर्को लागेको हामी देख्न सक्छौँ । 

माइतीघरको फराकिलो बगैँचाको वरिपरि सडकक्षेत्र, बिचभागमा आकर्षक मण्डल, हरियाली बिचमा नेपालको राष्ट्रिय झण्डा फराएको मनमोहक दृश्यबाट जो कोही आकर्षित हुनु स्वाभाविक नै हो तर यहाँ माइतीघर मण्डलाको आकर्षण हेर्नलाई मात्र होइन आफ्ना पीडा र समस्या पोख्न आउने पनि धेरै हुन्छन् । 

अधिवक्ता दीपेन्द्र विष्ट माइतीघर मण्डला आवाजविहीनहरूको आवाज राख्ने–पोख्ने स्थान बनेको अनुभव सुनाउँछन् । माइतीघर मण्डला सहरी सौन्दर्य र यातायात व्यवस्थापनका लागि बनाइएको जस्तो लाग्छ तर अहिले यो अन्याय, अत्याचार, विभेद, दमन, भ्रष्टाचारविरुद्ध अभिव्यक्ति र आक्रोश व्यक्त गर्ने प्रमुख थलो बनेको छ । 

यहाँ भेला हुनेहरूलाई हिउँद न वर्षा, घाम न पानी, वर्ष, महिना, दिन, बार कुनै तिथिमिति चाहिएको देखिँदैन । प्रायः माइतीघर अनेक खालका विरोध कार्यक्रमले व्यस्त नै देखिन्छ । अधिवक्ता विष्ट माइतीघर मण्डलालाई बेलायतको लन्डनमा रहेको हाइडपार्क र भारतको जन्तरमन्तरसँग तुलना गर्छन् ।

मण्डल निर्माण

माइतीघरको प्राचीन नाम फिब्वः ख्यः हो । नेपाल भाषामा यसको अर्थ बलौटे (बालुवा) स्थान भन्ने हुन्छ । यो क्षेत्र आसपास भएर बग्ने टुकुचा नदीका कारण खेतबारीमा बालुवा थुप्रिने भएकाले नेवार समुदाय फिब्वःख्यः भन्ने गर्थे । जुन स्थानलाई धेरै पछि माइतीघर भन्न थालियो । 

२०५७ सालमा काठमाडौँमा आयोजित ११ औँ सार्क शिखर सम्मेलनका क्रममा तत्कालीन मेयर केशव स्थापित, कलाकार वत्सगोपाल वैद्य र परिकल्पनाकार रिञ्जित योन्जनले माइतीघरमा मण्डल बनाउने योजना तयार पारेका थिए । काठमाडौँलाई नेपाल मण्डल पनि भन्ने गरिन्छ र यसलाई नमुना देखाउन यहाँ रहेका २२ वटा घरटहरा भत्काई आकर्षक मण्डल निर्माण गरिएको थियो । 

माइतीघर मण्डल नामकरण गरिए पनि बोलीचालीमा सबैले माइतीघर मण्डला भन्ने गर्छन् । करिब २० दिनको अवधिमा मण्डल निर्माण भएको दाबी गरिन्छ । काठमाडौँलाई चीनसँग जोड्ने अरनिको राजमार्गको आरम्भविन्दु पनि माइतीघर मण्डला हो । 

यो मण्डल घुमेर जाने सडकमध्ये पूर्वतर्फ अरनिको, पश्चिम थापाथली हुँदै पाटन तथा कालीमाटी कीर्तिपुर–थानकोट, उत्तर रामशाहपथ, सिंहदरबार, भद्रकाली, दक्षिण थापाथली दरबार गेट जोड्ने सडकसहित छ वटा मार्गको सङ्गम स्थलका रूपमा परिचित छ ।  

माइतीघरदेखि बबरमहल सडकको दुईतर्फी किनाराको हरियाली, मण्डलमा रहेको उद्यान, कलात्मक ढुङ्गेधारा, चैत्य यहाँका आकर्षक हुन् । मण्डल अवलोकन गर्ने भन्दा विभिन्न माग बोकेर सहर आएकालाई भेट्ने र आफ्ना माग सम्बोधनका लागि राज्य वा सरकारको ध्यानाकर्षण गराउनेले तस्बिर खिच्ने तथा टिकटक, रिल्स बनाउने गर्छन् ।

माइतीघरको नामकरण  

काठमाडौँ नेवार समुदायको बाक्लो बस्ती भएको स्थान हो । यहाँका अधिकांश ठाउँको नाम नेपाल भाषा (नेवारी) मा राखिएका छन् । नेवार समुदायले फिब्वः ख्यः भन्ने गरेको स्थान माइतीघर चलचित्र बनाउने कार्यको शुभारम्भसँगै नयाँ नामबाट परिचित हुन थाल्यो । 

माइतीघरबाट थापाथली जाँदा बायाँतर्फको दुईतले घरको माथिल्लो भागमा माइतीघर चलचित्रको कार्यालय र बोर्ड राखेकाले यस स्थानको नाम माइतीघर रहन पुगेको स्थानीय पन्नालाल श्रेष्ठ बताउँछन् । घरको बाहिर माइतीघर लेखिएको बोर्ड राखिएको थियो । त्यहीँ बोर्डका कारण फिब्वः ख्यः माइतीघर बन्न पुग्यो ।  

माइतीघर चलचित्र निजी लगानीमा बनेको पहिलो नेपाली कथानक चलचित्र थियो । यसका निर्देशक बिएस थापा तथा कलाकार सिपी लोहनी र माला सिन्हा थिए । निर्माण थालेको करिब पाँच वर्षपछि मात्र चलचित्र प्रदर्शनमा आयो । 

त्यो बेला रत्नपार्क–भद्रकाली हुँदै पाटन–मङ्गलबजार गुड्ने सार्वजनिक बसका सहचालकले यात्रु ओराल्दा वा चढाउँदा ‘माइतीघर–माइतीघर’ भन्दै नाम लिने गरेका थिए । जुन स्थानको नाम पछि माइतीघर नै हुन पुग्यो । हाल माइतीघर नागरिक अभिव्यक्तिको ‘थलो’ बन्न पुग्यो । 

–युवामञ्च