प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर १ गते । कर्णाली प्रदेशका ग्रामीण सडकहरू क्रमस कालोपत्रे हुन सुरु भएका छन् । कर्णाली प्रदेश सरकार र त्यसअन्तर्गतको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम मार्फत कर्णाली प्रदेशका ७९ वटै पालिका केन्द्रमा जोड्ने ग्रामीण सडकहरू कालोपत्रे गर्ने लक्ष्य अनुसार सडकहरू कालोपत्रे गर्न थालिएको हो ।
कालीकोटको रास्कोट नगरपालिकाको दस किलोमिटर कालोपत्रेको काम चलिरहेको छ भने नगरपालिका केन्दभित्र बसना निमार्ण सेवाले यस अघि कालोपत्रे गरिसकेको छ ।
उता दैलेख जिल्लाको डुंगेश्वर गाउँपालिका मुकामसम्म जोड्ने डुगेश्वर डाँडापराजुल ग्रामीण सडक कालोपत्रे गर्न सुरु गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले उक्त सडकको शिलान्यास गर्दै प्रदेश सरकारले सङ्घीय र स्थानीय तहसँग पनि समन्वय गरी कर्णालीका सबै पालिका मुकाममा जोड्ने सडकहरू क्रमशः कालोपत्रे गदै जाने बताउनुभयो । जसका लागि पहिलो चरण कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम मार्फत कर्णालीका विभिन्न जिल्लाका २० वटा पालिकामा जोड्ने सडकहरू कालोपत्रे गर्ने तयारी गरिएको बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले आवश्यकता र प्राथमिकताका आधारमा कर्णालीका हरेक सडकहरू कालोपत्रे गर्ने कार्यको थालनी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अब कर्णालीका सबै सडकहरू कालोपत्रे गर्नका सरकारले तयारीमा छ, विगतमा झ्यालबाट योजना बाँड्ने प्रथाको अन्त्य भएको छ । विकास र योजनामा थिति बसालिएको छ । सरकारले गर्ने हरेक काम पारदर्शी र जनताको मागलाई मूल ढोकाबाटै सम्बोधन गर्ने गरी सरकारले काम गरेको र विगतको भन्दा विकास र समृद्धिको गति पनि बढ्ने दाबि मुख्यमन्त्री कँडेलको छ ।
कडेलको दाबिमा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका नेताहरुको भनाइ समेत मिल्दै गएको छ । सो पार्टीका पोलिटब्युरो सदस्य एटम बिसिले कर्णाली प्रदेशका चार मुख्यमन्त्रीको तुलनामा वर्तमान मुख्यमन्त्री यामलाल कँडेल शुसासनको सवालमा अब्बल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले चारै जना मुख्यमन्त्रीलाई नजिकबाट निकालेका छौ ।’’ तर अरु भन्दा कडेल धेरै कुरामा अब्बल देखिनु भएको नेता बिसिले बताउनुभयो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा लागू भएको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम आयोजना शिलान्यास गरी कार्य थालनी गर्ने कर्णाली प्रदेश पहिलो प्रदेश भएको बताउनुभयो । उहाँका अनुसार मधेशब र सुदूरपश्चिम प्रदेशमा पनि यो कार्यक्रम लागू छ । तर त्यहाँ आयोजना कार्यान्वयन हुने चरणमा पुगिसकेको छैन ।
विश्व बैंकको ऋण सहायतामा सञ्चालन हुने संघ सरकारको समन्वय तथा स्थानीय तहको सहयोगमा प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी पूर्वाधार विकास कार्यालयले रेखदेखको जिम्मेवारी लिने गरी ग्रामीण सडक कालोपत्रे हुन थालेका छन् । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम कार्यान्वयन इकाई सुर्खेतका प्रमुख यगेन्द्र धरालाले डुगेश्वर डाँडापराजुल करिब ८ किलोमिटर सडक कालोपत्रेका लागि २८ करोड १२ लाख ७५ हजार नौ सय ३७ रुपियाँ लागतमा निर्माण हुन लागेको बताउनुभयो ।
यो सडक कालोपत्रेको जिम्मा अमर–खड्काकृष्ण–वासना जेभीले लिएको छ । निमार्ण व्यवसायी जेभीका डाईरेक्टर मानव बमले सडक कालोपत्रेको भौतिक प्रगती ३५ प्रतिसत पुगेको बताउनुभयो । हामीले ठेक्का सम्झौता हुने वितिकै काम सुरु गरेका थियौँ । तर मुख्यमन्त्री ज्युको समय नभएकाले आज औपचारिक शिलान्यास भए पनि काम भने एक महिना अगाडिबाट जारी रहेको बताउनुभयो । हामीले मुलुक निमार्ण गर्ने हिक्मत राखेका छौँ त्यसैले पनि सम्झौता हुने बितिकै काम सुरु हुन्छ औपचारिक्ता पछि हुँदै गर्छ बमले भन्नुभयो ।