ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १ गते । म्याग्दीको विकट धवलागिरि गाउँपालिका मुना जोड्ने दरबाङ–मुना सडक स्तरोन्नति आयोजना सञ्चालन गरिएको छ । सडक स्तरोन्नति आयोजना सञ्चालन भएसँगै स्थानीयहरु खुसी भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको बेनी–दरबाङ–ताकम–मुना–जलजला हुँदै ढोरपाटन जोड्ने उक्त सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारको समपुरक अनुदान र गण्डकी प्रदेश सरकारको बजेट गरी कुल एक अर्ब १७ करोड ८९ लाख रुपियाँ लागतमा उक्त आयोजना सञ्चालन गरिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले दुईवटा ठेक्कामार्फत उक्त सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ ।
सङ्घीय सरकारको समपुरक बजेटबाट पहिलो प्याकेजको दरबाङदेखि धारापानीसम्म ७ किलोमिटर ६ सय मिटर र सिवाङको झिनडाँडादेखि गाउँपालिका केन्द्र मुनासम्म पाँच किलोमिटर ६ सय मिटर गरी कुल १३ किलोमिटर दुई सय मिटर सडक स्तरोन्नतीसहित कालोपत्रे र ढलान हुनेछ । यो आयोजनाका लागि ९२ करोड ९० लाख रुपियाँ लागत स्टिमेट तयार भएकोमा ५२ करोड ८० लाख ५३ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ । यस आयोजना सम्पन्न गर्न सङ्घीय सरकार र प्रदेश सरकारको ५०/५० प्रतिशत लागत साझेदारी हुनेछ ।
सडक स्तरोन्नतिसहित कालोपत्रे र ढलान गर्नका लागि पूर्वाधार विकास कार्यालयले सक्षम सिम्रन जेभी पोखरासँग २०८४ भदौ ११ गते भित्र निर्माण सम्पन्न गर्नेगरी २०८२ असार ११ गते ठेक्का सम्झौता गरिसकेको छ ।
यो खण्डअन्तर्गत दरबाङदेखि धारापानी गाउँसम्मको सडक चौडा, नाली निर्माण, ग्राभेल लगायतका कामहरु दुईवर्ष अघि नै भएकाले यसपालीको ठेक्कामार्फत कालोपत्रे र बाँकी स्थानमा सडक ढलानको काम हुनेछ ।
सिवाङको झिनडाँडादेखि गाउँपालिका केन्द्र मुनासम्म सडक फराकिलो पार्ने, घुम्ती सुधार, नाली निर्माण लगायतका पूर्वाधार निर्माण गरी सडक कालोपत्रे र ढलान गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो । उहाँ अनुसार यो योजनामा तीन किलोमिटर पाँच सय मिटर सडक ढलान र बाँकी स्थानमा आस्फाल्ट प्रविधिको कालोपत्रे हुनेछ ।
सडक स्तरोन्नतिका लागि मजदुर र उपकरणसहित कार्यस्थलमा निर्माण व्यवसायी परिचालन भएको छ । यो आयोजनाका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्षमा २३ करोड २२ लाख रुपियाँ प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।
यसैगरी, गण्डकी प्रदेश सरकारको बजेटबाट आयोजनाको दोस्रो खण्डमा पर्ने धारापानी गाउँदेखि झिनडाँडासम्मको ६ किलोमिटर तीनसय मिटर सडक स्तरोन्नतिसहित कालोपत्रे र ढलान गर्नका लागि २४ करोड ९९ लाख रुपियाँ लागत स्टिमेट तयार भएको उक्त आयोजना १४ करोड ६१ लाख ६१ हजार रुपियाँमा ठेक्का सम्झौता थियो ।
२०८३ भदौ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०८१ जेठ २० गते रामसागर–विएस–धौलागिरी–विके–एसके जेभीसँग ठेक्का सम्झौता भएको यो आयोजनामा अहिलेसम्म ७० प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माण व्यवसायीले सडक पूर्वाधार निर्माणको काम सकेर कालोपत्रे र ढलानको काम सुरु गरेको छ । योजनाअन्तर्गत वस्तीस्तरमा आस्फाल्ट प्रविधिको कालोपत्रे, उकालो स्थानमा ढलान र अन्य स्थानमा ग्राभेल हुनेछ । यो आयोजना सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा चार करोड ४९ लाख रुपियाँ प्राप्त भएको कार्यालयले जनाएको छ ।
जिल्लाको विकट गाउँपालिका केन्द्र सम्म नै सडक स्तरोन्नति गर्ने यो कार्यालयका लागि ठुलो आयोजना भएकाले कार्यालयका तर्फबाट प्राविधिक जनशक्ति परिचालन गरी अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाइएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।
ठेक्का लगाएका दुईवटा नै प्याकेज आगामी २०८४ को भदौसम्म सम्पन्न भएमा दरबाङदेखि गाउँपालिका केन्द्र मुना सम्मकै सडक कालोपत्रे, ढलान र ग्राभेल भई आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।
जिल्लाको पश्चिम भेगलाई सदरमुकाम बेनीसँग जोड्ने उक्त सडक आयोजनामा सङ्घीय समपुरक र गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको ठुलो बजेट भएकाले तोकिएको समय भित्र सडक निर्माण भएमा यस क्षेत्रकै आर्थिक र सामाजिक विकासमा ठुलो फट्को मार्ने अपेक्षा गरिएको गण्डकी प्रदेश सभामा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद रेशमबहादुर जुग्जालीले बताउनुभयो । धवलागिरी गाउँपालिकाको केन्द्र मुना पुगेको सडकलाई जलजलादेखि बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुमसँग जोड्न सकेमा त्यसभेगका सर्वसाधारणहरुलाई पोखरा–काठमाडौँ आवतजावत गर्न मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर छोटो पर्नेछ ।
बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा यसअघि नै १८ किलोमिटर सडक कालोपत्र भएको छ । गाउँपालिका केन्द्र मुनासम्म सडक निर्माण भएमा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रको विकासमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।