सुजल श्रेष्ठ
प्युठान, जेठ १ गते । प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा भ्यान चालक प्युठान नगरपालिका–४ बस्ने अन्दाजी २४ वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका–५ धुदी बस्ने अन्दाजी २६ वर्षीय अभिषेक कुँवर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा गम्भीर चोट लागेका दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।