• १० जेठ २०८१, बिहिबार

तीन तहको सुरक्षा घेरा

दुई लाख साठी हजार सुरक्षाकर्मी परिचालन

blog

काठमाडौँ, वैशाख २८ गते  ।  स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् ।  मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।  तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशीलको सूचीमा छन् । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षा व्यवस्था बलियो र प्रभावकारी पारिएको जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार मतदान स्थल सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । 

सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ । 

त्यस्तै, अति संवेदनशील मतदान स्थलमा छ म्यादी पाँच प्रहरी गरी ११, संवेदनशीलमा पाँच म्यादी चार प्रहरी गरी नौ र अन्यमा चार म्यादी तीन प्रहरी गरी सात सुरक्षाकर्मी परिचालन गरिएको छ । थप मद्दतका लागि हतियारसहित नौदेखि ११ जना सशस्त्र प्रहरीको टोली रहनेछ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालन भएसँगै यसअघि यी सुरक्षा निकायले सम्हाल्दै आएको महìवपूर्ण स्थान, संरचना तथा सम्पदाको सुरक्षामा सेना खटाइएको छ । विकट पहाडी जिल्लामा हेलिकप्टरबाट निर्वाचन सामग्रीसहित टोली पठाइएको प्रवक्ता पोखरेलले बताउनुभयो । 

निर्वाचन सुरक्षाका लागि सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड, मध्य कमाण्ड पोखरा, उपत्यका कमान्ड र पूर्वी कमान्ड इटहरीमा हेलिकप्टरसहितको विशेष टोली तयारी अवस्थामा राखिएको छ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार सेना निर्वाचन सुरक्षामा खटिइसकेको छ । 

सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ । अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सशस्त्रलाई मतदान अवधिभर खटाइएको छ । यस पटक पनि शान्त, स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैमा सहयोगका लागि आग्रह गरेको छ ।