• १२ मंसिर २०८२, शुक्रबार

कर्मचारीलाई इमानदार भएर काम गर्न स्वास्थ्य मन्त्री डा.गौतमको आग्रह

blog

राष्ट्रिय संयुक्त वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतम ।

काठमाडौँ, मङ्सिर १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले कर्मचारीलाई इमानदार भएर काम गर्न आग्रह गर्नुभएको छ ।शुक्रबार राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै मन्त्री डा.गौतमले कर्मचारीलाई इमानदार भएर काम गर्न आग्रह हो । 

उहाँले स्वास्थ्य क्षेत्र धेरै अगाडि बढेपनि सोचेअनुरूप प्रगति हुन नसकेको भन्दै कर्मचारीलाई क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्न आग्रह हो । उहाँले यो सरकारको स्पष्ट म्यान्डेट संस्थागत सुधार, भ्रष्टाचार न्यूनिकरण र बेथितिको अन्त्य भएको उल्लेख गर्नुभयो ।

 उहाँ भन्नुहुन्छ, “अहिलेको सरकार छोटो समयका लागि निर्वाचन गराउने जिम्मेवारीसाथ आएको छ तर यो सरकारको स्पष्ट म्यान्डेट संस्थागत सुदृढीकरण, प्रणाली सुधार र भ्रष्टाचार न्यूनीकरण हो । त्यसैले नतिजा देखिने गरी काम गर्नुपर्छ ।” 

उहाँले आफू मन्त्री भएर मन्त्रालय समालेको एक महिना बितिसक्दापनि स्वास्थ्य क्षेत्रमा जेनजीको भावना अनुरूप परिवर्तन हुनु पर्ने हो त्यो अझै हुन सकेको बताउँदै स्वास्थ्य सचिवलाई ढुक्कले काम गर्न आग्रह गर्नुभयो ।

 उहाँ भन्नुभयो,“स्वास्थ्य समूहको सचिव जसको सरुवा नै हुँदैन, मुख्य सचिव बन्न पनि पर्दैन । यो रिसाउलान् त्यो रिसाउलान् भन्ने छैन त्यसैले ढुक्क भएर नतिजा आउनेगरी काम गर्नुहोस् ।” 

दातृ निकायका प्रतिनिधिहरूको कार्यशैली पनि चित्तबुझ्दो नभएको उहाँले गुनासो गर्नुभयो । दुई चारवटा जिल्ला प्रोजेक्ट चलाएर यस्तो गरेको छु भनेर मात्रै नहुने भन्दै कागजमा भन्दा पनि वास्तविकता नतिजा देखिने गरि काम गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा सचिव डा.विकास देवकोटाले सीमित स्रोत साधनमा उपलब्धि मूलक काम गर्न सबैलाई आग्रह गर्नुभयो ।उहाँले जिम्मेवारी र जवाफदेही भएर काम गर्न सबैलाई अनुरोध गर्नुभयो ।

 उहाँले स्वास्थ्य सेवा परिवर्तन गर्न तीन निशुल्क कुरा परिवर्तन गर्न अस्पताललाई आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ, “पैसा लाग्ने काम मन्त्रालयले परिवर्तन गर्छ । अस्पतालमा तीनवटा निःशुल्क कुरा सरसफाइ, व्यवहार र परामर्श राम्रो बनाउनुहोस् । स्वास्थ्य सेवा परिवर्तन हुन्छ ।” 

राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले हालसम्म १५ वटा सूचकमा मात्र उपलब्धि हासिल भएको जानकारी दिनुभयो । उहाँका अनुसार एसबीएस डेलिभरी, एचआईभी सङ्क्रमण, हेपाटाइटिस बी प्रिभेलेन्स, एलएफ केसेस, टिएफआर, एएनसी, संस्थागत डेलिभरी र खोपका क्षेत्रमा मात्र स्वास्थ्य मन्त्रालयले दिगो विकास लक्ष्यको उपलब्धि हासिल गरेको छ। 

यी १४ वटा सूचकलाई निरन्तरता दिँदै दिगोपन बनाउनु चुनौतीपूर्ण रहेको उहाँ बताउनुहुन्छ । बाँकी १४ वटा सूचक प्राप्तिमा चुनौती भएपनि त्यसका लागि प्रभावकारी कामहरु भइरहेको उहाँको भनाइ छ । 

पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर, बेवास्ता गरिएका ट्रपिकल रोगहरु (मलेरिया, कालाजार), नसर्ने रोग, सडक दुर्घटना, सुर्तिजन्य पदार्थको प्रयोग र स्वास्थ्यको जिडिपीमा उपलब्धि हासिल गर्न चुनौतीपूर्ण रहेको उहाँले जीकिर गर्नुभयो । 

अन्य १४ वटा सूचकमा उपलब्धिप्राप्त गर्न झनै चुनौतीपूर्ण देखिएको उहाँको भनाइ छ । मातृ मृत्युदर, नवजात शिशुको मृत्युदर, टिबी, आत्महत्या, किशोरी अवस्थाको जन्मदर, पाठेघरको मुखको क्यान्सर, डेंगु र ओओपीमा थप काम र लगानी आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । 

राष्ट्रिय योजना आयोगले एसडीजीका उपलब्धी हासिल गर्न २६४ दशमलव २८ बिलियन बजेट आवश्यक रहेको बताएको थियो। डा.पौडेलका अनुसार स्वास्थ्य जनशक्तिका लागि ८४ दशमलव ४६ बिलियन, स्वास्थ्य सेवाका लागि ७१ दशमलव ५३ र स्वास्थ्य संरचनाका लागि ३१ बिलियन बजेट आवश्यक रहेको छ ।