• १० पुस २०८१, बुधबार

निसासिँदै काठमाडौँ

blog

एक परिचित वातावरणीय सङ्कट हो वायु प्रदूषण । हामी देख्न सक्छौँ विशेष गरी हिउँदमा शहरी क्षेत्रमा तुवाँलो लागेको, गाडीले फ्याँकेको धुवाँ सडकमै रुमलिएको तथा महसुस गर्न सक्छौँ आँखा पोलेको र घाँटीमा सगसगी । कतिपय वायु प्रदूषण आँखाले देखिन्न र तत्कालै त्यसको असर पनि थाहा हुँदैन तर घातक हुन्छ ।

वायु प्रदूषण मानव सिर्जित र प्राकृतिक स्रोत मिश्रित हुन सक्छ । गाडीले उत्सर्जन गर्ने धुवाँ, जैव इन्धन र ग्यासको प्रयोग, उत्पादन क्षेत्र तथा ऊर्जा उत्पादन, विभिन्न रसायनको प्रयोग आदि वायु प्रदूषणमा मानव सिर्जित स्रोत हुन् । यसबाहेक मानवजन्य वा स्वतः हुने वनजङ्गल आगलागी, मलमूत्र तथा मृत जीव सड्दै गर्दा निस्कने मिथेनलगायतका ग्यास वायु प्रदूषणका प्राकृतिक स्रोतमा पर्छन् । 

नेपालको सन्दर्भमा वायु प्रदूषणका सीमित स्रोत छन् र मुख्य रूपमा पर्दछ यातायात क्षेत्र । परिवहन क्षेत्रबाट हुने वायु प्रदूषण स्पष्ट छ, यसप्रति चिन्ता छ तर रोकथामको यथोचित पहल र जागरुकता देखिँदैन । यस सम्बन्धमा सम्बद्ध अधिकारी तथा सरोकारवालाको आआफ्नै दाबी छन् । 

यातायात व्यवस्था विभाग अन्तर्गत सवारी परीक्षण कार्यालय टेकुका इन्जिनियर गौतमकुमार गुप्ता तर्क दिन्छन्, २४ घण्टा सञ्चालन गरेको एउटा उद्योगको चिम्नीले फालेको धुवाँ बराबर सय वटा सवारीसाधनबाट निस्कने धुवाँ हुन्छ तर सवाल धुवाँको मात्र होइन, धुवाँमा हुने कण र रसायनले महìव राख्छ र यसप्रति गुप्ता मौन छन् ।  

उद्योग, कलकारखाना तथा सवारीसाधनलगायत विभिन्न क्षेत्रबाट निस्कने दूषित वायु न्यूनीकरण गर्न तथा व्यवस्थापन कार्य उपलब्धिमूलक भएको देखिँदैन । सरकारले वातावरण विभागमार्फत प्रत्येक उद्योग तथा कलकारखाना र यातायात कार्यालयमार्फत सवारीसाधनको प्रदूषण मापन गर्ने व्यवस्था मिलाएको छ । प्लास्टिकसहित अन्य फोहोर बिसर्जनको अधिकार स्थानीय तहलाई दिइएको छ । 

नेपालको सन्दर्भमा वायु प्रदूषणका सीमित स्रोत छन् र मुख्य रूपमा पर्दछ यातायात क्षेत्र । परिवहन क्षेत्रबाट हुने वायु प्रदूषण स्पष्ट छ, यसप्रति चिन्ता छ तर रोकथामको यथोचित पहल र जागरुकता देखिँदैन ।

मङ्सिरदेखि जेठ महिनासम्म आकाश धुम्म पर्ने समस्या हेर्दा भए गरेका पहलको प्रभावकारितामा प्रश्न उठ्छ । स्थानीय तहले नै शहर बस्तीबाट निस्कने फोहोर वनजङ्गल, खोला किनार, खोल्सा आदिमा बिसर्जनको नाममा फ्याँक्ने र आगो लगाउनु पनि यहाँ वायु प्रदूषणको अर्को कारण हो ।

काठमाडौँ उपत्यकाभित्र गुड्ने निजी तथा सार्वजनिक सवारीसाधनको प्रदूषण जाँच गर्न ललितपुरको एकान्तकुना, सरकारी तथा हरियो प्लेटको सवारीसाधनका लागि टेकु र अन्य (अन्तरप्रदेश) मा चल्ने सार्वजनिक सवारीसाधनका अत्तरिया, बुटवल, हेटौँडा र इटहरीमा सवारी परीक्षण गरिँदै आएको छ ।

यी स्थानमा सवारी परीक्षण त हुन्छ तर प्रदूषण परीक्षणमा भने ‘लप्पन–छप्पन’ हुने गरेको आरोप लाग्दै आएको छ । इन्जिनियर गुप्ताको भनाइमा कोही कसैले लप्पन छप्पनी नगरी प्राप्त जिम्मेवारी अनुसार इमानदारीपूर्वक काम गर्ने हो भने सवारीका कारण हुने प्रदूषण कम गर्न सकिन्छ ।

ललितपुरको एकान्तकुनामा रहेको सवारी परीक्षण कार्यालयमा ‘ग्रिन स्टिकर’ बिक्री हुने गरेको आरोप लाग्दै आएको छ । परीक्षणमा सवारीसाधन ‘फेल’ भएमा गाडीका आन्तरिक पार्टपुर्जा सरसफाइ (सर्भिसिङ) गर्नुपर्ने हुन्छ ।

टेकुमा सरकारी सवारीसाधनको मात्र प्रदूषण परीक्षण हुने भएकाले चालक स्वयं सर्भिसिङ गराउन सक्रिय हुने गरेको सम्बद्ध अधिकारी बताउँछन् । एक तथ्याङ्क अनुसार सरकारी नम्बर प्लेटका सवारीसाधनमध्ये आठ प्रतिशत परीक्षणमा असफल हुने गरेका छन् ।

करिब ४० लाख सवारीसाधन

यातायात व्यवस्था विभागका अनुसार देशमा करिब ४० लाख सवारीसाधन छन् । तीमध्ये बागमती प्रदेशमा करिब २० लाख दर्ता रहेको तथा काठमाडौँ उपत्यकाभित्र करिब १५ लाख सवारीसाधन गुड्ने गरेका छन् ।

यस प्रकार वायु प्रदूषण हुनुका विभिन्न कारणमध्ये सवारीसाधनको भूमिका ३८ प्रतिशत रहेको अनुमान गरिएको छ । यतिका सवारीसाधनको नियमित परीक्षण गर्न सम्भव देखिँदैन । दक्ष जनशक्ति र प्रविधिको अभाव पनि त्यत्तिकै खट्किएको छ ।

डिजेलबाट चल्ने सवारीसाधनका लागि ओपासिटी ६५ (Opacity˂65%) प्रतिशतभन्दा कम र पेट्रोलियम पदार्थबाट चल्ने सवारीका लागि सिओ ३ (Co ˂ 3%vol) प्रतिशतभन्दा कम मापदण्ड राखिएको छ ।

पत्रु गाडी हटाउन आनाकानी

२० वर्ष पुराना सवारीसाधन हटाउने निर्णय भएको एक दशक बित्दा पनि पत्रु मानिएका पुराना गाडी हटाउन आनाकानी हुने गरेको छ ।

बागमती प्रदेश सरकारले यातायात व्यवसायीको दबाबमा पत्रु गाडी हटाउनुको सट्टा २० वर्ष कायम गरेकालाई २५ र २५ वर्ष कायम गरिएकालाई ३० वर्ष बनाउने तयारी गरेको छ । इलेक्ट्रिक सवारीसाधनको हकमा भने ३० वर्ष अवधिमा पत्रु कायम गरी हटाउने तयारी गरिएको छ । प्रतिवर्ष करिब १५ सय पत्रु गाडी विस्थापित हुने देखिन्छ ।

स्वास्थ्यमा घातक

वायु प्रदूषणले मानिसको स्वास्थ्यमा समेत असर पार्दछ । वायु प्रदूषणले गर्दा दम तथा फोक्सोसम्बन्धी रोगबाट पीडितको स्वास्थ्यमा झनै समस्या आउँछ, बालबालिका पनि जोखिममा पर्छन् । साथै स्वस्थ मानिसलाई पनि सास लिन गाह्रो पर्ने, घाँटी खसखस गर्ने, छालामा एलर्जी देखिने लगायतका समस्या देखिन सक्छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार वायु प्रदूषणले गर्दा विश्वमा बर्सेनि लगभग ७० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै ६६ प्रतिशत मानिसमा फोक्सोको समस्या, ३४ प्रतिशतमा मुटुरोग, ४७ प्रतिशतको सास लिने नलीमा सङ्क्रमण, ३७ प्रतिशतमा मस्तिष्कघात तथा २२ प्रतिशत नवजात शिशुको स्वास्थ्यमा समस्या देखिने गरेको डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ ।

उद्योग, कलकारखाना, सवारीसाधन, सडकको धुलो त वायु प्रदूषणका मुख्य कारक हुन् नै प्लास्टिकलाई बाल्दा वा भान्साबाट निस्कने धुवाँ पनि स्वास्थ्यलाई घातक नै हुने गर्छ ।

वायु प्रदूषणका कारण मानसिक तनावसँगै उच्च रक्तचाप, कलेजो, फोक्सो र मुटुको समस्या उत्पन्न हुने जोखिम उच्च हुने भएकाले  विशेष गरी हिउँदमा सतर्कता अपनाउन भन्छन् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. नीरज बम ।

हिउँदमा कम वर्षा हुने तथा चिसोले गर्दा विभिन्न रसायन, धातु मिश्रित धुलोका कण सतहनजिक रहने भएकाले समेत वायु प्रदूषण घातक अवस्थामा पुग्दछ । कम वर्षा हुँदा धुलोका कण जमिनको सतहनजिक र औसत मानिसको कदको उचाइमा रहन्छन् ।

उच्च जोखिममा काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यकामा वायु प्रदूषण देशका अन्य भेगभन्दा धेरै नै बढी छ । वातावरण विभागका अनुसार मङ्सिर पहिलो हप्ता काठमाडौँ उपत्यकाको वायु प्रदूषण सूचकाङ्क औसत १६१ एक्युआई पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) दिनप्रतिदिन बढ्दो छ । वायु प्रदूषणको यो मात्रा पनि मानिसका लागि अस्वस्थकर नै हो ।   

एयर क्वालिटी इन्डेक्समा शून्यदेखि ५० सम्म राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म अस्वस्थ, १५१ देखि २०० सम्म अति अस्वस्थ र जोखिमपूर्ण तथा २०१ देखि ३०० सम्म सूचकाङ्कलाई खतरनाक तह एवं विपत्का रूपमा लिइन्छ ।  यसअघि २०७७ साल पुसमा काठमाडौँ उपत्यकाको वायू प्रदूषण सूचकाङ्क २५७ एक्युआई पुग्दा सरकारले प्रदूषणका कारण जोखिम बढेको जनाउँदै केही दिन शैक्षिक संस्थामा बिदा दिने निर्णयसमेत गरेको थियो । 


काठमाडौँ उपत्यकाको रत्नपार्क, शङ्खपार्क, कीर्तिपुर, पुल्चोक, भैँसेपाटी, खुमलटार, भक्तपुर तथा बाँके जिल्लालगायतका क्षेत्रमा वायु प्रदूषण मापन उपकरण राखिएका छन् । 

विभिन्न स्रोतबाट रसायन जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कण वायुमण्डलमा फैलने तथा प्रदूषण बढाउने र चिसोमा समस्या झनै बल्झिने भनाइ वातावरणविज्ञ गोविन्द लामिछानेको छ । 

वायु प्रदूषणमा मानिसको भूमिका  

वायु प्रदूषणमा मानवीय क्रियाकलापको भूमिका विचारणीय छ । मानिसका गतिविधिले गर्दा विभिन्न खालका रसायन र ग्यासले हावा प्रदूषित बनाउने गरेको स्पष्ट नै छ । सवारीसाधनबाट निस्कने धुवाँधुलो, प्लास्टिकको व्यापक प्रयोग तथा प्लास्टिक मिश्रित फोहोर जथाभाबी जलाउने कार्यलाई नियन्त्रण गर्ने हो भने वायु प्रदूषण ५० देखि ६० प्रतिशत रोक्न सकिने विश्वास गरिएको छ ।  

वायु प्रदूषण नियन्त्रणका लागि केही पहलकदमी नभएका होइनन् । वातावरण निरीक्षक लामिछानेको भनाइमा वातावरण विभागबाट विज्ञसहितको टोलीले उद्योग कलकारखानालगायतका क्षेत्रमा नियमित निरीक्षणको व्यवस्था छ । तर त्यो कार्य औपचारिकतामै सीमित देखिन्छ । कैफियत देखिएमा कठोर कारबाहीको कुनै व्यवस्था छैन । सङ्घीय सरकार अन्तर्गत २५ जना र प्रदेशमा सात जना गरी जम्मा ३२ जनाले मुलुकभरका उद्योग, कलकारखाना, चिम्नी वा इँटा भट्टालगायतबाट हुने वायु प्रदूषण निरीक्षण र जाँच गर्नुपर्ने अवस्था छ । 

विश्व परिवेशमा हेर्दा एक अध्ययन अनुसार वायु प्रदूषण गर्नमा चीन अग्र स्थानमा पर्दछ । त्यसपछि अमेरिका छ र भारत तेस्रो स्थानमा रहेको छ । भारतका कारण पनि नेपालमा वायु प्रदूषण हुने गरेको वातावरण विभागले उल्लेख गरेको छ । 

विशेष गरी हिउँदमा भारतमा दीपावली मनाउन ठूलो मात्रामा  पटका पड्काउने, धान काटेको खेतबारीमा आगो लगाउने जस्ता कारणले पनि नेपालमा वायु प्रदूषण हुने गरेको विज्ञहरू बताउँछन् । 

नियमन निकाय मौन 

वायु प्रदूषण गर्नेविरुद्ध कानुनी कारबाही गर्नमा नियामक निकाय नै मौन देखिएका छन् । सरकारी निकायले नै गरेको लापर्बाहीले नेपालमा वायु प्रदूषण नियन्त्रणबाहिर छ । 

वायु प्रदूषित गर्नेविरुद्ध वातावरण संरक्षण ऐन– २०७६, राष्ट्रिय कृषि तथा वन नीति– २०७६, राष्ट्रिय जलवायु परिवर्तन नीति– २०७६ आकर्षित हुने भए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ । 

प्रदूषण घटाउन सचेतनासँगै सवारी परीक्षण कार्य नियमित गर्ने, विद्युतीय सवारीसाधनको प्रयोग बढाउने, कारखाना वा चिम्नीबाट निस्कने धुवाँ फिल्टर प्रविधि जडान गर्नुपर्ने, प्लास्टिकलगायतका रासायनिक वस्तु जलाउन रोक लगाइएको छ तर यी व्यवस्थामा प्रभावकारी कार्यान्वयनको खाँचो छ । 


आठ वर्षे रणनीति 

सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्ययोजना २०८०–२०८८ सार्वजनिक गरेको छ । यो कार्ययोजनाले नागरिक, समुदाय, स्थानीय तह, प्रदेश र सङ्घीय सरकार सबैलाई वातावरण संरक्षणमा जिम्मेवार बनाई वायु प्रदूषण हुने मानवीय क्रियाकलाप घटाउने प्रतिबद्धता जनाएको छ । वातावरण प्रदूषण मानव अधिकारसँग जोडिएको विषय भएकाले स्थानीय तहबाट नै फोहोर व्यवस्थापन, कानुनी उपचार, कार्यान्वयन र सचेतना बढाउने जनाएको छ । 

त्यस्तै सन् २०२५ सम्ममा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रेसँगै निजी सवारीसाधन बिक्रीको २५ प्रतिशत हिस्सा विद्युतीय सवारीसाधन, सार्वजनिकमा २० प्रतिशत तथा सन् २०३० सम्ममा विद्युतीय सवारी सार्वजनिक क्षेत्रमा ९० प्रतिशत र निजी क्षेत्रमा ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो, ग्रामीण क्षेत्रका दुई लाख घरधुरीमा बायोग्यास र औद्योगिक क्षेत्रमा पाँच सय ठूलो स्तरको बायोग्यास प्लान्ट जडान गर्ने  कार्ययोजनामा उल्लेख छ । 

यसै गरी प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना– २०७८ ले २० माइक्रोनभन्दा पातलो झोलाको उत्पादन, आयात, निर्यात र प्रयोगमा प्रतिबन्ध लगाइएको छ भने काठमाडौँ उपत्यकाको हकमा २० इन्च चौडाइ र ३५ इन्च लम्बाइभन्दा सानो ४० माइक्रोनभन्दा पातलो झोला उत्पादन र बिक्रीवितरण बन्द गरिएको छ । 

 –युवामञ्च