काठमाडौँ, मङ्सिर १२ गते । समूहमा बस्ने, समात्न सजिलो हुने र राम्रो मूल्य आउने भएपछि खोला किनारामा ढुङ्गामुनि बस्ने पतेरो किरा खोज्नेको भिड नै लाग्ने गरेको छ । एक परिवारका चार जनाले एक बिहान खोज्दा एक किलोसम्म पतेरो किरा समाउँदा खोलामै तीन हजार दुई सय रुपियाँ पाउँछन् । खोलामा नै खरिद गर्ने र नगद पाउने भएपछि धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकका नदी किनारामा बस्ने अहिले बालुवा चाल्न र माछा मार्न छाडेर पतेरो किरा समाउन थालेका छन् ।
समूहमा बस्ने पतेरो किरा समाउन स्थानीयको बास खोला किनारामा हुन थालेको छ । साँझ र बिहान समाउन सजिलो हुने र राम्रो मूल्य आउने भएपछि धादिङको त्रिशूली नदी, लमजुङको बोराङखोला र चेपेखोला, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको इन्द्रावती र सुनकोशी नदी किनारामा झुन्डमा बस्ने पतेरो प्रजातिको किरा खोज्न मानिस दिनरात मेहनत गरिरहेका भेटिन्छन् । “हामीलाई कानुनको कुरा थाहा छैन, खोलामा भेटिने किरा समाएर जिउँदै बेच्ने गरेका छौँ, पैसा राम्रो आएको र नुनतेल किन्न सकेका छौँ,” सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका बिर्कमान माझीले भन्नुभयो । सरकारले समाउन मिल्दैन भन्यो भने आफूहरूले पतेरो नसमाउने उहाँले बताउनुभयो ।
तेमाल गाउँपालिकाका केपी पाण्डेले नदी किनारामा पतेरो किरा खोज्नेको भिड लागेको बताउनुभयो । “यसले आम्दानी दिनु खुसीको कुरा हो तर स्थानीय सरकार, सम्बन्धित निकायले पनि यसका फाइदा र बेफाइदाका बारेमा बुझ्न ढिला गर्नुहुँदैन,” पाण्डेले उल्लेख गर्नुभयो । उहाँले राम्रो मूल्य आउने र वैधानिक हो भने सरकारले यसको उत्पादनकै योजना ल्याउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालय धुलिखेलका कार्यालय प्रमुख कुलप्रसाद दवाडी खोला किरानामा पाइने पतेरो किन र के प्रयोजनका लागि सङ्कलन भएको हो, त्यसबारे आफूलाई जानकारी नभएको बताउनुहुन्छ । “तस्बिरमा हेर्दा पतेरो जस्तो देखिन्छ, यसको प्रयोग किन र केका लागि भएको छ, त्यसबारे जानकारी छैन,” उहाँले भन्नुभयो ।
प्रहरीले २०८१ चैतमा चार किलो पतेरो किरासहित एक जनालाई पक्राउ गरेको थियो । लमजुङको बोराङखोला र चेपेखोलामा सङ्कलन गरिएको चार किलो किरासहित लमजुङ प्रहरीले धादिङको रुबीभ्याली गाउँपालिकाका ५१ वर्षीया जिम्पा तामाङलाई त्यसबेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले उल्लेख गर्नुभयो । उहाँले पक्राउ परेका तामाङले स्थानीय नागरिकसँग किनेको पतेरो किरा चीनका व्यापारीलाई बेच्ने गरेको बताउनुभयो । चीनका व्यापारीले स्थानीय एजेन्टमार्फत पतेरो किरा किन्ने गरेका छन् । व्यापारी सिधै स्थानीयसँग सम्पर्कमा भने आउने गरेका छैनन् ।
प्रहरीले पतेरोसहित तामाङलाई डिभिजन वन कार्यालय लमजुङलाई बुझाएको उहाँले बताउनुभयो । खोला किनाराका स्थानीय नागरिकले सङ्कलन गरेको सो किरा तामाङले चिनियाँ व्यापारीलाई प्रतिकिलो १२ हजार रुपियाँमा बेच्ने बयान वन कार्यालयलाई दिएको डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँको मुद्दाको फैसला भने भएको छैन ।
चीनमा यस्ता किराको प्रयोग छालामा लाग्ने रोगको औषधी लेपन बनाउन र औषधीका रूपमा प्रयोग हुने गरेको पाइएको उल्लेख गर्नुभयो । यसरी किरा समाएर बिक्रीवितरणमा प्रयोग हुँदा तीन महिनासम्म कैद वा २० हजार रुपियाँसम्म जरिबाना हुने बताए पनि कुन कानुनमा यस्तो प्रावधान छ भन्नेबारे भने प्रनाउ बोहोराले स्पष्ट पार्नुभएन ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले इन्द्रावती र सुनकोशी किनारामा किरा खोज्ने क्रम बढेको सूचना पाएलगत्तै वास्तविकता पत्ता लगाउन डिभिजन वन कार्यालयसँग समन्वय गरेर किराको नमुना सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन विष्टले सामाजिक सञ्जालमा किरा टिपेको देखेपछि सुनकोशी नदी किनारामा वन कार्यालय र प्रहरीको प्रतिनिधि पुगेको उल्लेख गर्नुभयो ।