• ८ फागुन २०८२, शुक्रबार

समृद्धिका लागि पच्चिस स्तम्भ

blog

केपी शर्मा ओली, अध्यक्ष

काठमाडौँ, फागुन ८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा प्रजातन्त्र दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा विशेष समारोहबिच घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको छ । 

भ्रष्टाचार नियन्त्रणमा कडा कदम चालिने, सार्वजनिक सेवा प्रवाह पारदर्शी गर्ने, न्यायिक, प्रशासनिक र वित्तीय सुधारमार्फत सुशासन सुदृढ गर्नेलगायतका एमालेले देश समृद्ध बनाउने २५ स्तम्भ घोषणापत्रमा समावेश गरेको छ ।

घोषणापत्रमा विकासका लागि पाँच आधारभूत घोषणा, ११ वटा मन्त्रीपरिषद्बाट तत्काल गर्ने काम र २५ वटा समृद्धिका स्तम्भ उल्लेख गरेको छ । पाँच आधारभूत घोषणामा देश पहिला, परिपूर्ण लोकतन्त्र, संविधान, कानुनको सर्वोच्चता र सुशासन, भ्रम होइन, तथ्यमा विश्वास गरौँ, समृद्धिको युगतर्फ नेपाल र मैत्रीपूर्ण विदेश सम्बन्धलाई उल्लेख गरेको छ ।

एमालेले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पु¥याउने लक्ष्य बोकेर घोषणापत्र सार्वजनिक गरेको हो । समतामूलक द्रुत आर्थिक विकासमार्फत चरम गरिबीको अन्त्य गरी प्रतिव्यक्ति आय बढाउने लक्ष्य एमालेले अघि सारेको छ । कृषि उत्पादन, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै सात प्रतिशतदेखि नौ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य एमालेले राखेको छ । पाँच वर्षमा अर्थतन्त्रको आकार एक सय खर्ब रुपियाँ र १० वर्षमा दुई सय खर्ब रुपियाँ पु¥याउने एमालेको लक्ष्य सार्वजनिक गरेको हो । 

कृषिको आधुनिकीकरण गर्ने, लगानीमैत्री तथा उत्पादनमैत्री नीतिहरू लागु गर्ने, वित्तीय क्षेत्रको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, पुँजीबजारको विकास र सुदृढीकरण गर्दै आन्तरिक तथा बाह्य पुँजी आकर्षित योजना अघि सारेको छ । आर्थिक वृद्धिमा गुणात्मक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने, बजेटको प्रभावकारी कार्यान्वयन, समयपालना र गुणस्तर सुनिश्चित गर्ने एमालेको लक्ष्य छ । 

राष्ट्रिय प्राथमिकताका आयोजना कार्यान्वयनका लागि मात्र सार्वजनिक ऋण लिने र सार्वजनिक ऋण राष्ट्रिय सामथ्र्यभन्दा बढी हुन नदिने एमालेको घोषणापत्रमा छ । सो पार्टीले वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अगाडि सारेको छ । रोजगारीको अवसरलाई दोब्बर बनाउँदै वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउने एमालेले जनाएको छ । 

मजदुरको शोषण अन्त्य गर्दै मर्यादित काम, उचित ज्याला र रोजगारीको सुरक्षा सुनिश्चित गरी पाँच वर्षमा श्रम आय दोब्बर बनाउने भनिएको छ । न्यून आय भएकालाई सहुलियत ऋणमार्फत घर वा अपार्टमेन्ट खरिदमा सहयोग गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । 

मध्यपहाडी लोकमार्ग, कोशी–गण्डकी–कर्णाली कोरिडोर र हुलाकी राजमार्गलाई आर्थिक कोरिडोरका रूपमा विकास गर्ने लक्ष्य एमालेले अघि सारेको छ । गाउँ–नगर–सहरलाई क्रमशः ‘फोहर शून्य क्षेत्र’ घोषणा गर्ने, प्रत्येक उपमहानगरमा स्याटेलाइट सहर विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

भारत र चीनसँगको व्यापारिक पहुँच अधिकतम उपयोग गरी बन्दरगाह तथा भन्सार प्रणाली आधुनिकीकरण गरी ४८ घण्टाभित्र जाँचपास सम्पन्न गरिने व्यवस्था गर्ने उल्लेख छ । एमालेले सहकारी क्षेत्रलाई पारदर्शी बनाएर वचतकर्ताको रकम सुरक्षित गर्न कडा नियमन व्यवस्था लागु गर्ने र समस्याग्रस्त सहकारीको छानबिन गरी कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । 

युवालाई दस जिबी इन्टरनेट डाटा

घोषणापत्रमा एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । सूचना प्रविधि क्षेत्रमा आइटी/टेक उत्पादनको अनुसन्धान, उत्पादन तथा निर्यात प्रवर्धन गर्न र स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवालाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैङ्क कार्ड उपलब्ध गराउने घोषणामा छ । एमालेले यस्तो खालको सुविधाले स्टार्टअप उद्यममा जोडिन चाहने युवालाई एआई, कन्टेन्ट व्रिmएसन, डिजिटल मार्केटिङ एप विकास तथा अन्य आइटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाइ १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य लिएको छ । 

एमालेले विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीमा कुनै पनि प्रकृतिको सेयर खरिद गर्न सक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउने घोषणा गरेको छ । एमालेले घोषणापत्रमा वैदेशिक रोजगारीमा गएर देशमा विप्रेषण पठाइरहेका श्रमिकको सम्मानस्वरूप उहाँहरूको बैङ्क खातामा वार्षिक पाँच हजार थप गरिदिने घोषणा गरेको छ । 

विद्यार्थीलाई २० लाख ऋण

एमालेले प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाखसम्म निब्र्याजी ऋण उपलब्ध गराउने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीका लागि निःशुल्क प्याड सहज रूपमा उपलब्ध गराउने एमालेले घोषणा गरेको छ । १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्ने प्रतिबद्धता एमालेको छ । 

न्यूनतम पारिश्रमिक २५ हजार

एमालेले श्रमिकको सिप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारिश्रमिक २५ हजार पु¥याउने घोषणा गरेको छ । शिक्षकको मर्यादाक्रम तोक्ने निर्णय गर्ने, स्वास्थ्य स्वयंसेविकालाई थप प्रोत्साहित गर्न वार्षिक रूपमा प्रदान गरिँदै आएको भत्ता बढाएर २० हजार पु¥याउने घोषणा पनि उसको छ ।

उद्यमी महिला निब्र्याजी ऋण

महिला उद्यमशीलता विकास गर्न बैङ्क तथा वित्तीय संस्थामार्फत २० लाखसम्मको उद्यमी महिला निब्र्याजी ऋण सुविधा सहज ढङ्गले प्रदान गर्ने घोषणा एमालेको छ । महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता दिने र गर्भवती महिलाका लागि पाँच लाखसम्मको जीवन बिमा निःशुल्क गर्ने लगायतका काम समय तोकेर सम्पन्न गर्ने बताइएको छ । 

२५ हजारसम्मको ऋण मिनाहा

राज्यद्वारा गरिब परिवारका रूपमा पहिचान भएका घरपरिवारले बैङ्क तथा वित्तीय संस्थाबाट २०८२ साल भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहाको घोषणा गरेको छ । राष्ट्रको सुरक्षा, सार्वभौमिकता र स्थायित्वका लागि जीवन अर्पण गर्ने बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मान र कल्याण सुनिश्चित गर्ने घोषणा एमालेको छ । घोषणापत्र सार्वजनिक गर्नुअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । 

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।