• १७ वैशाख २०८३, बिहिबार

मोदीवेणीधाममा सरसफाइ अभियान

blog

बागलुङ समाचारदाता 

बागलुङ, वैशाख १७ गते । जिल्लाकै पुरानो घाट भएको सताब्दिऔँदेखि पुजिँदै आएको महत्वपूर्ण धार्मिक तीर्थस्थल मोदीवेणीधाममा सरसफाइ अभियान थालिएको छ । मोदीवेणीधाम कालीगण्डकी नदी र मोदीखोलाको सङ्गमस्थलका रूपमा प्रख्यात छ । अन्धाधुन्ध रूपमा भइरहेका विकासे गतिविधि र प्राकृतिक स्रोतको अवैध दोहनका कारण प्रदूषणको सिकार हुन पुगेका मोदीवेणीधाममा शिवालय युवा विकास मञ्च पर्वत र कालीगण्डकी बचाऔँ अभियानले संयुक्त रूपमा सरसफाइ अभियान थालेका छन् । 

कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै नदीलाई गैरकानुनी दोहन गर्नु, फोहोर विसर्जन स्थल बनाइनु निकै दुःखद रहेको कालीगण्डकी बचाऔँ अभियानका संयोजक अदीप्त गिरीले बताउनुभयो । मोदीवेणीधामलाई व्यवस्थित गर्नका लागि गठन गरिएका विभिन्न समिति निष्क्रिय हुँदा आफूहरू सक्रिय हुनु परेको गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “धामक्षेत्रमा अव्यवस्थित तवरले बनाइएका संरचनाले यहाँको मौलिकपनलाई घटाइदिएको छ ।” वराह र स्कन्धपुराणमा लेखिए अनुसार मोदीवेणीदेखि उत्तरपट्टिको क्षेत्रलाई कालङगिरि पर्वत भनिन्छ । यहाँ एउटा मात्र गौदान गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । 

हरेक साताको शनिबारलाई सिर्जनशील बनाउने अभिप्रायले सरसफाइ अभियान थालिएको शिवालय विकास मञ्चले जनाएको छ । मोदीवेणीधामलाई मुक्तिनाथ र दामोदरकुण्डको प्रवेशद्वारका रूपमा पनि चिनिन्छ । मोदीवेणी पर्वत, बागलुङ र स्याङ्जा जिल्लाकै पुरानो घाट भएकाले दाहसंस्कार गर्ने चलन सताब्दिऔँदेखि चल्दै आएको छ । वैशाखसङ्क्रान्ति, हरिबोधनी एकादशीमा यहाँ ठुलो मेला लाग्ने गर्दछ ।