• १७ वैशाख २०८३, बिहिबार

इन्धनको मूल्यवृद्धिसँगै दूधको दर बढ्यो

blog

भिमाद नगरपालिकाको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख १७ गते ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले गर्दा उत्पादन लागत बढेपछि तनहुँको भिमाद नगरपालिकाले दूधको खरिद तथा बिक्री दरमा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै ढुवानी र उत्पादनका अन्य सामग्री महँगो हुँदा किसानको लागत मूल्य वृद्धि भएकाले नगरपालिकाले दूधको नयाँ दर कायम गरेको हो ।

नगरपालिकाको ‘दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०८२’ को व्यवस्था अनुसार हालको बजार मूल्यलाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएकोे छ । जसअनुसार वैशाख १६ गतेदेखि लागू हुने गरी भैँसीको दूधको प्रतिलिटर खरिद मूल्य १२० रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी, थोक बिक्री मूल्य प्रतिलिटर १४० र खुद्रा बिक्री मूल्य १५० रुपियाँ तोकिएको छ । प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोख्रेलका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रत्यक्ष असर किसानको लागतमा परेपछि कार्यविधिको दफा १३ को उपदफा (२) बमोजिम यो निर्णय लिइएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा भने पुनः पुरानै मूल्य कायम हुने नगरपालिकाले जनाएको छ । यो व्यवस्था नगरपालिकाको प्रोत्साहन कार्यक्रममा आबद्ध संस्थाहरूमा लागू हुनेछ । इन्धनको मूल्यवृद्धिले गर्दा मारमा परेका दुग्ध उत्पादक किसानलाई यो निर्णयले केही राहत पुग्ने अपेक्षा गरिएको छ ।