• १७ वैशाख २०८३, बिहिबार

जेनजी सहिदको स्मृतिमा नेपालगञ्जमा भवन र पार्क निर्माण

blog

नेपालगञ्जको वाटरपार्कमा निर्माण गरिएको सहिद स्मृति योगा भवन र खुला व्यायामशाला। तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, वैशाख १७ गते ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका दुई युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको सालिकसहित पार्क निर्माण गरिएको छ। अर्धकदको सालिक स्थापना गरी शुक्रबार उद्घाटन गर्ने तयारी गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१ का आयुषराज थापा र सुलभ श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योगा भवन तथा खुला व्यायामशाला निर्माण गरेको हो।

लुम्बिनी प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा करिब ५० लाख रुपियाँ लागतमा योगा भवन निर्माण गरिएको हो। यसैगरी १० लाख रुपियाँको लागतमा खुला व्यायामशाला निर्माण गरिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “देशको परिवर्तनका लागि सहादत प्राप्त गर्ने वडाका होनहार युवाहरूको स्मृतिमा अर्धकदको सालिकसहित स्मृति भवन निर्माण गरेका छौँ।”

पहिलो चरणमा सिमेन्टको अर्धकदको सालिक निर्माण गरिएको र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ढलोटको सालिक बनाउने तयारी रहेको वडा अध्यक्ष रिजालले बताउनुभयो।

नेपालगञ्जका स्थायी बासिन्दा श्रेष्ठ र थापाको गत भदौ २३ गते राजधानीमा जेन्जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो।

वडा कार्यालयले यसअघि दुवै सहिदको स्मृतिमा ‘सहिद मार्ग’ समेत नामाकरण गरिसकेको छ। सहिद स्मृतिमा अर्धकदको सालिकसहितको भवन उद्घाटनपछि खुला ब्याडमिन्टन प्रतियोगिता समेत सञ्चालन हुने भएको छ।