• १७ वैशाख २०८३, बिहिबार

अन्धकारमै छ रिपीगाउँ

blog

जुम्ला तिला गाउँपालिका–६ को रिपीगाउँ । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता

सिँजा (जुम्ला), वैशाख १७ गते । जुम्लाको तिला गाउँपालिका–६ मा अवस्थित दुर्गम रिपीगाउँमा विद्युत्का पोल त पुगेको छ बिजुली बलेको छैन । गाउँमा एक वर्षअघि नै विद्युत्का लागि पोल गाडिएको भए पनि बत्ति भने बाल्न नपाएको स्थानीयवासीको गुनासो छ । यहाँका सयौँ घरधुरी अझै अन्धकारमै जीवन बिताउन बाध्य छन् । स्थानीयवासी अहिले पनि परम्परागत दियालो र टुकीकै भरमा बस्नु परेको छ । यस्तो अवस्थाले दैनिक जीवन मात्र होइन, बालबालिकाको भविष्यसमेत प्रभावित भएको छ । स्थानीय प्रदीप रावत भन्नुहुन्छ, “बत्ति नभएपछि यहाँका बालबाललिकाले विद्यालयबाट घर गएर अध्ययन गर्ने भन्ने नै हुँदैन । टुकी र दियालोको धुवाँले उनीहरूको स्वास्थ्यमा पनि नकारात्मक असर पारिरहेको छ ।”

त्यसै गरी मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण चार्ज गर्नका लागि टाढा जानुपर्ने बाध्यता छ । इन्टरनेट सेवा नहुँदा सूचना र सञ्चारको पहुँचबाट पनि स्थानीयवासी वञ्चित छन् । डिजिटल युगमा समेत यस्तो आधारभूत सुविधाबाट टाढा रहनु परेकाले उनीहरू निकै पछाडि परेको महसुस गर्छन् ।

बिजुली अभावले गाउँको आर्थिक गतिविधिमा पनि ठुलो असर परेको छ । साना उद्योग, कुटानी–पिसानी मिल र अन्य आयआर्जनका माध्यम सञ्चालन गर्न नसक्दा स्थानीयको आम्दानीमा निकै न्यून छ ।

स्थानीय गोरबहादुर रावत बिजुली नहुँदा गाउँमा कुनै पनि साना उद्योग सञ्चालन गर्न सकिएको छैन ।

पूर्वाधार निर्माणमा ढिलासुस्ती मात्र नभई लापरबाहीको समस्या पनि देखिएको छ । एक वर्षअघि गाडिएका धेरै जसो पोल अहिले ढल्ने अवस्थामा पुगेका छन्, जसले कामको गुणस्तरप्रति समेत प्रश्न उठाएको छ तर यति हुँदाहुँदै पनि विद्युत् सेवा सञ्चालन हुने कुनै सङ्केत देखिएको छैन ।

भौगोलिक रूपमा विकट रहेको यस गाउँमा अझै सडक सुविधा पनि पुगेको छैन । दैनिक उपभोग्य सामग्री ल्याउन स्थानीयलाई घन्टौँ पैदल हिँडेर पिठिउँमा बोकेर ल्याउनुपर्ने बाध्यता छ । तिलाका अन्य केही गाउँमा सडक पुगे पनि नियमित यातायात सेवा सञ्चालनमा छैन । कतिपय स्थानमा मोटरसाइकलमार्फत आवतजावत सहज बनाइएको भए पनि रिपीगाउँमा यस्तो सुविधा पनि उपलब्ध छैन ।

स्थानीय गोरबहादुर रावतका अनुसार सेरीबजार पुगेर खाद्यान्न तथा आवश्यक सामग्री किनमेल गर्न जाँदा आउजाउमा निकै कठिनाइ हुने गरेको छ । उहाँले भन्नुभयो, “सडक नहुँदा हामीले सबै सामान पिठिउँमै बोक्नु पर्छ । स्थानीय सरकार सञ्चालनमा आएको आठ वर्ष बितिसक्दा पनि रिपीगाउँमा आधारभूत सेवा विस्तार नहुनु दुःखद भएको स्थानीयको गुनासो छ । सम्बन्धित निकायलाई छिटोभन्दा छिटो विद्युत् सेवा सञ्चालन गर्न तथा सडक विस्तारमा ध्यान दिन स्थानीयले आग्रह गरेका छन् ।