• ११ फागुन २०८२, सोमबार

समृद्धिको जडी तितेपाती पनि

blog

गुणका कारण तितेपातीलाई औषधीको राजा नै मानिन्छ । तितेपातीलाई आयुर्वेदमा ‘सर्वरोग नाशक’ अर्थात् सबै रोग नाश गर्ने औषधी मानिन्छ ।

काठमाडौँ, फागुन ११ गते । नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पति तितेपाती बहुगुणीय औषधी मात्रै होइन, यो आर्थिक समृद्धिको पनि जडी बन्न सक्छ । पूजाआजा र श्राद्धमा प्रयोग हुने तितेपाती पशुलाई सोत्तरदेखि मानव स्वास्थ्य रक्षकसँगै सौन्दर्य प्रशाधन– अत्तरका रूपमा प्रयोग गरेर आर्थिक समृद्धिको जडी बनाउन सकिने जानकारहरू बताउँछन् । 

सहज रूपमा जङ्गल या खेतबारीमा पाइने यो जडी स्वास्थ्यका लागि निकै उपयोगी साबित भएको छ । गुणका कारण तितेपातीलाई औषधीको राजा नै मानिन्छ । तितेपातीलाई आयुर्वेदमा ‘सर्वरोग नाशक’ अर्थात् सबै रोग नाश गर्ने औषधी मानिने आयुर्वेदिक चिकित्सक डा. मनोज चौधरी बताउनुहुन्छ । उहाँका अनुसार औषधीय गुणको खानी भएकाले यसलाई घरको निःशुल्क वैद्य पनि भनिन्छ । यसको प्रयोगले पाचन प्रणालीलाई मजबुत बनाउने, अपच, पेट दुख्ने, ग्यास तथा पेट फुल्ने समस्या कम गर्न सहयोग गर्छ । 

विशेष गरेर आयुर्वेदिक उपचारमा तितेपातीलाई डेङ्गु, मलेरिया जस्ता ज्वरोसम्बन्धी रोगको सहायक औषधीका रूपमा प्रयोग गरिँदै आएको छ । घरका झ्याल, ढोका, दलिन तथा काठका दराजहरूलाई किरा लाग्न नदिन तितेपाती निकै प्रभावकारी मानिन्छ । तितेपातीलाई पकाएर बनाइएको झोल काठका सामग्रीमा लगाउँदा किरा लाग्दैन र सामान लामो समयसम्म सुरक्षित रहन्छ । 

कोरोना महामारीमा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनले तितेपातीबाट सेनिटाइजरसमेत उत्पादन गरेको थियो । तितेपाती प्रयोग गरी बनाइएको सेनिटाइजर पहिलो प्रयोग भएको विश्वविद्यालयको दाबी छ । सेनिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार तयार पारिएको थियो । तितेपाती अपार औषधीय गुण भएको प्रमाणित भइसकेको छ । 

लामो अनुसन्धानपछि चीनले पहिलो पटक सन् २०१५ मा तितेपातीबाट बनेको औषधीबाट मलेरिया निको पार्न सकिने पत्ता लगाएपछि यसको महत्व झन् बढेको थियो । सोही कारण चीनले नोबेल पुरस्कारसम्म पाउन सफल भयो । विभिन्न खाद्यान्नलाई बिग्रन नदिन र किरा लाग्नबाट बचाउन अहिले पनि परम्परागत रूपमा गाउँघरमा किसानले तितेपाती प्रयोग गर्छन् । काभ्रेपलाञ्चोकका अग्रज किसान महेश्वर दाहालले तितेपातीको प्रयोगबाट खेतीपातीका लागि आवश्यक जैविक विषादी बनाउने गरिएको उल्लेख गर्नुभयो । त्यसको प्रयोगले अर्गानिक उत्पादन हुने उहाँले बताउँदै गाईको गहुँतसँगै तितो, टर्राे हुने वनस्पतिको प्रयोगले बनाएको झोलमल निकै प्रभावकारी बनेको छ । 

तितेपातीका विभिन्न प्रजाति भए पनि नेपालमा छ प्रजातिका उपलब्ध छन् । यो फूल फुल्ने बिरुवाको प्रजातिमा पर्ने कृषि प्रचार अधिकृत कृष्ण धिताल बताउनुहुन्छ । तितेपातीको उपयोग जडीबुटीका रूपमा र सौन्दर्य प्रसाधन अत्तर (पफ्र्युम) बनाउनका लागि पनि प्रयोग गरिन्छ । साधारणतया जहाँ पनि हुर्कने भएकाले यो वनस्पति खेती गर्न पनि कुनै कठिनाइ नहुने उहाँले बताउनुभयो । तितेपातीको तेलबाट हाड दुःखाइको औषधी, चिलाउने रोगको औषधी, उच्च रक्तचाप र ज्वरोको औषधी बनाउन सकिने विज्ञहरूको दाबी छ । बाली भित्र्याउनुअघि तितेपातीबाट बनेको औषधी छर्केर भण्डारण गर्नाले कुनै घुनपुत्ली नलाग्ने कीटविज्ञ डा. जर्नादन खड्काले बताउनुभयो । 

पाकविज्ञानमा पनि तितेपातीलाई एक ‘हर्ब’ को रूपमा र हर्बल टीमा प्रयोग गर्न सकिने वरिष्ठ सेफ मोहनकृष्ण गजुरेलले बताउनुभयो । तितेपातीलाई उत्तरी युरोपतिर एक कमन हर्बका रूपमा खान पनि प्रयोग गरिन्छ । विभिन्न सुप, स्टु, सलादहरूमा तितेपातीको फूल, पात या डाँठसम्म एक सुगन्धित जडीका रूपमा प्राचीन समयदेखि प्रयोगमा ल्याइएको छ । मासुका परिकार र हर्बल टीको रूपमा पनि मिसाएर प्रयोग गरिन्छ । तितेपातीको प्रयोगले शरीरमा पाचनशक्ति मजबुत हुने र निकै बास्नादार हुने हुँदा खानामा यसको प्रयोग बढ्दै गएको गजुरेलले बताउनुभयो । 

फ्याटी एसिड कम र भिटामिन सी पर्याप्त हुने हुँदा स्वास्थ्यका लागि पनि निकै राम्रो मानिन्छ । तितेपाती प्रयोग गरेर लस्सी (स्मुथी) जेल्ली र पनि बनाइन्छ । युरोपियनहरूले च्याउ सुपमा पनि तितेपाती मिसाएर बनाउँदा निकै चाख दिएर पिउने उहाँले बताउनुभयो । कोरियनहरूले पनि तितेपातीलाई राइस प्यान केक, स्टिम बन, स्पिरिङ इस्न्याक्स, डाइसुकु, दुनोट, डिमसम जस्ता खानामा परम्परादेखि नै प्रयोगमा ल्याएको पाइन्छ ।  

मासु या माछाको परिकारमा तितेपाती प्रयोग गरिने र बियर तथा अरू पेय पदार्थमा पनि तितो सुगन्ध र प्युरिटीका लागि व्यापक प्रयोग गरेको पाइन्छ । तसर्थ तितेपाती पशुलाई खाना र सोत्तर मात्र होइन, मानव जीवनमा पनि पर्याप्त फाइदा पु¥याउने एक अमूल्य जडीका रूपमा लिनु आवश्यक हुने उहाँले बताउनुभयो । 

कपालको चाया हटाउनदेखि लुतो र चोटपटक लागेमा समेत गाउँघरमा तितेपाती प्रयोग गरेको पाइन्छ । चर्म रोग र सुन्निएको ठाउँमा पनि तितेपाती उपयोगी वनस्पति मानिन्छ । सेतो तितेपातीलाई पानीमा उमालेर सेक्नाले दुखेको, ठोक्किएको ठाउँमा आराम हुने, डिप्रेसन र निद्रासम्बन्धी समस्या भएमा, शरीरमा जुका या चुर्ना परेमा तितेपातीको जराको पाउडर बनाएर बिहान मनतातो पानीमा एक चम्चा खानाले स्वतः हराएर जाने चौधरीले बताउनुभयो । 

मधुमेहका रोगीका लागि पनि यो उत्तम मानिन्छ । यसको जराको पाउडर एक हप्तासम्म बेलुका सुत्ने बेलामा पानीमा घोलेर खान सकिन्छ । चोखो र शुद्ध वनस्पति भएको हुनाले धार्मिक रूपमा पनि यसको महìव उच्च छ । तितेपातीको तेल मानव शरीरको मस्तिष्कका लागि अति नै राम्रो मानिन्छ । कसैलाई नयाँ मान्छे देखेपछि आत्तिने समस्या छ भने तितेपाती र रोजमेरीको तेल मिसाएर प्रयोग गर्नाले समस्या विस्तारै हट्दै जाने विश्वास गरिन्छ । 

तितेपातीको तेल नेपालमा पनि उत्पादन गर्न सुरु गरिएको छ । पेटसम्बन्धी समस्या हुनेले तितेपातीको तेल र क्यारियर आयल अर्थात् वनस्पति तेल मिसाएर मसाज गर्नाले निकै आराम हुन्छ । खाना अपच हुने समस्या भएकाहरूका लागि पनि यो तेल उत्तम छ । यत्रतत्र छरिएर रहेका औषधीय गुणयुक्त जडीबुटीलाई व्यावसायिक रूप प्रदान गर्न सक्ने चुनावी एजेन्डा दलहरूले बनाउन आवश्यक हुने यो क्षेत्रमा लामो समयदेखि सक्रिय केपी पाण्डेले बताउनुभयो । भाषण मात्रै नभएर आर्थिक आर्जनको बाटोमा आफूलाई उभ्याउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

  

Author
केशवराज पौडेल

उहाँले गोरखापत्रका लागि राजनीति, कृषि र पशुअधिकारको क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।