• १७ वैशाख २०८३, बिहिबार

पर्यटक आउन थाले रायरायकोट

blog

बागलुङ समाचारदाता 

बागलुङ, वैशाख १७ गते । बागलुङ नगरपालिकास्थित पर्यटकीय स्थल रायरायकोट पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँ थप भौतिक पूर्वाधार निर्माण गर्न थालिएको छ । बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट नामकरण गरिएको छ । मुख्य पूर्वाधार निर्माण भइरहेको ताराजालकोट हो । ताराजालदेखि माथि कारीकोट, माझकोट र रायरायकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ । पाँच कोटलाई जोडेर पर्यटकीय सर्किटका रूपमा विकास गर्न स्थानीय तह र विभिन्न सङ्घ संस्थाले पहल थालेका छन् । 

बागलुङ नगरपालिका–७ का वडाध्यक्ष मेघराज शर्मा गैरेले बागलुङ बजारदेखि नजिकैको गन्तव्य रायरायकोटमा पर्यटन प्रवर्धन गर्न योजना बनाएको बताउनुभयो । गैरागाउँ, तितौरे, बाटुले, तङ्ग्राम, मूलपानी, तित्याङ र मालिकावासीले पूजा गर्ने रायरायकोटमा विश्रामस्थल, सत्तल, मैदान र पर्खाल निर्माण गरिएको छ । कोट मन्दिरलाई व्यवस्थित गर्नेदेखि पर्याप्त खानेपानी र पर्यटकीय संरचना बनाउन स्थानीय तहसँग सहकार्य गर्ने योजना बनेको रायरायकोट विकास समितिका अध्यक्ष नन्दलाल गौतमले बताउनुभयो । गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट रायरायकोटमा २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घन्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ ।