गजेन्द्र गुरुङ
खजुरा, वैशाख १७ गते । बाँकेको कोहलपुुर नगरपालिकाले नगरभित्रका अतिक्रमित सार्वजनिक सरकारी जग्गा खाली गर्न १० दिने अल्टिमेटम दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र अतिक्रमण गरी अनधिकृत रुपमा अवैध कब्जा गरी बनाइएका घरटहराहरु खाली गर्न १० दिने अल्टिमेटम दिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर थापाद्वारा हस्ताक्षरित सूचनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रानुसार कोहलपुर नगरपालिकाको वडा नम्बर १ देखि १५ वडा क्षेत्रभित्र रहेका निजी तथा सार्वजनिक जग्गाहरु (कोहलपुर–११ स्थित नगर विकास समतिकिो मातहतमा रहेको क्रिकेट मैदान आसपासका अतिक्रमित जमिन समेत) विभिन्न व्यक्तिहरुले अनधिकृत रुपमा अवैध कब्जा गरी घर टहरा कम्पाउन्डवाल वा अन्य संरचना निर्माण गरेको पाइएको जनाइएको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सरकारको नीति तथा नेपाल सरकार मन्त्रिपरिषदको चैत १३ गते बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीको बुँदा नम्बर ९२ मा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्न डिजिटल अभिलेख तयार गर्ने निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्य तत्काल प्रारम्भ गर्ने भनिएअनुसार कार्यान्वयन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
सूचनामा नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र अवैध कब्जा हटाउनु पर्ने भएको हुँदा अवैध रुपमा बनाइएका घर टहराहरु आगामी वैशाख २५ गते साँझ ७ बजेभित्र खाली गर्न भनिएको छ । सम्बन्धित व्यक्ति स्वयम् आफैँले १० दिनभित्र संरचनाहरु नहटाएमा नगरपालिकाले प्रचलित कानुनबममोजिम उक्त संरचनाहरु वैशाख २६ गते बिहान ६ बजेदेखि भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गराइने सूचनामा उल्लेख छ ।
नगरपालिका आफैँले संरचना भत्काउने र अतिक्रमित जग्गा खाली गराउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकारीहरुबाटै सरकारी बाँकी सरह असुलउपर गराइने तथा कानुनअनुसार कारबाही समेत गरिने नगरपालिकाले जनाएको छ । उक्त सूचना जिल्ला प्रशासन कायार्लल बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र सबै वडा कार्यालयहरुलाई बोधार्थ गरिएको छ ।