• १७ वैशाख २०८३, बिहिबार

मंगलाको कुहुँमा सडक स्तरोन्नति भएपछि सहज

blog

कुहुँमा स्तरोन्नति गरिएको सडक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, वैशाख १७ गते ।
म्याग्दीको मंगला गाउँपालिका १ कुहुँमा सडक स्तरोन्नति भएपछि स्थानीयहरुलाई आवतजावतमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति गरेको हो । सडक स्तरोन्नति भएसँगै साघुरो र जीर्ण सडकका कारण जोखिम मोलेर आवतजावत गर्ने समस्या अन्त्य भएको छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपियाँको उक्त योजना निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण कम्पनी मंगला कन्ट्रक्सनसँग २०८२ माघ ६ गते ४६ लाख २९ हजार एकसय २४ रपियाँमा ठेक्का सम्झौता गरेको थियो । 

ठेक्का सम्झौता लगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण कम्पनीले प्रयाप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर आगामी जेठ महिनाको १५ गते भित्र सम्पन्न गर्नुपर्ने भए पनि  डेढ महिना अघिनै योजना सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सब–इन्जिनिर रविन चोखालले बताउनुभयो ।

इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद पनि समयअघि नै सडकस्तरोन्नतिको काम सकेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । योजनाअन्तर्गत कुहुँ गाउँभित्र ५१ मिटर सडक फराकिलो पारिनुका साथै मेसिनरी पर्खाल र नाली निर्माण गरिएको छ । साथै उपल्लो तुसारेपानीदेखि कुहुँतर्फ जाने दुई सय पचास मिटर सडकमा फराकिलो पार्ने, ग्रेड मिलाउने र घुम्ती सुधार गर्ने काम गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव–इन्जिनियर चोखालले बताउनुभयो ।

उहाँका अनुसार डाँडाको घुम्ती क्षेत्रमा एकसय २८ घनमिटर ग्यावियन पर्खाल निर्माण गरेर सडकलाई थप सुरक्षित बनाइएको छ । सडक सुधारसँगै स्थानीयवासीलाई सवारीसाधन आवतजावत गर्न सहज भएको मंगला गाउँपालिका– १ का वडाध्यक्ष एकजित रोकाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिले साँघुरो सडकका कारण सवारी साधन आवतजावत गर्न निकै  समस्या हुने गरेको थियो । सडक फराकिलो बनाएपछि सहज भएको छ ।’’