ठाकुरप्रसाद आचार्य
बेनी, वैशाख १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित शिख क्षेत्रमा बुधबार दिउँसो वर्षासँगै असिना परेको छ । पानीसँगै परेको असिनाले खेतबारी सेताम्मे भएका भएका छन् भने किसानले लगाएको बाली नष्ट भएको छ ।
बुधबार दिउँसो एक्कासि मौसम बदलिएपछि परेको असिनाले खेतबारी सेताम्मे भएको स्थानीयवासी सुरेन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हुरीवतास वर्षासँगै असिना परेको छ । असिना परेपछि किसानले लगाएको खेतीबाली नष्ट भएको छ । खेतबारी सबै असिनाले सेताम्मे देखिएको छ ।’’
तीन दिनअघि वर्षासँगै परेको असिनापानीले म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका धाइरिङलगायतका क्षेत्रमा सुन्तला र तरकारीबालीमा ठुलो क्षति पुगेको थियो । असिनाले बालीनालीमा क्षति पुगेपछि किसानले स्थानीय तहसँग राहत माग गरेका छन् ।
अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा अविरल वर्षासँगै आएको बाढीले बजार क्षेत्रमा क्षति पुर्याएको छ । भुरुङ तातोपानी बजारको शिरतर्फबाट बग्ने दुई वटा खहरे खोलाबाट आएको बाढी बस्तीमा पसेपछि जनजीवन प्रभावित बनाएको छ ।
बाढी पसेर स्थानीयको घरमा सामान्य क्षति पुर्याएको र खानेपानीको पाइप लाइनसमेत बगाएको छ । अविरल वर्षाका कारण बेनी जोमसोम कोरला सडक अन्तर्गत महभिर, तातोपानी, गुइँठेभिर, खामभित्ता र लाटोखोलामा बाढीपहिरोले सडक केहीबेर अवरुद्ध बनेको थियो ।
मौसमविद्ले पछिल्लो समय देशका पहाडी तथा हिमाली क्षेत्रमा असिनासहित वर्षा र हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेका छन् ।