नवलपुर, चैत २६ गते । के तपाईंको छोराछोरीले घरमा कसैको कुरा नसुन्ने, नगर भनेको काम गरिहाल्ने, एक्लै बस्न रुचाउने, विद्यालय जान नमान्ने, मोबाइल धेरै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गरेको देख्नुभएको छ ? छ भने आजैदेखि ख्याल गर्नुहोस्, यो मोबाइलको लत हुन सक्छ र त्यो लत छुटाउन सुधार केन्द्रमा पठाउनुपर्ने पनि हुन सक्छ ।
नवलपुरको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालय, मध्यविन्दु प्रादेशिक अस्पताललगायतले जिल्लाका सुधारगृह (रिह्याब सेन्टर) मा गरेको अनुगमनमा अभिभावकले मोबाइलको लत छुटाउन आफ्ना सन्तानलाई सुधारगृहमा लगेर राखेको पाइएको हो ।
जिल्लामा रहेका नौ सुधारगृहमध्ये अधिकांशमा यस्तै समस्या भएका बालकलाई राखेको पाइएको प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो । “१२ देखि १८ वर्ष उमेर समूहका थुप्रै बालकलाई सुधारगृहमा लगेर राखेको पाइयो,” चापागाईंले भन्नुभयो, “सानो उमेरका धेरै बच्चामा मोबाइलको लत रहेको देखिन्छ भने केही लागुऔषध र मादक पदार्थ सेवनकर्ता पनि भेटिए ।”
हाल जिल्लाभर कति जना बालक सुधारगृहमा छन् भन्ने यकिन तथ्याङ्क नभए पनि यसले समुदायमा यस्तो समस्या भएका बालबालिका धेरै भएको हुन सक्ने सङ्केत गरेको उहाँको भनाइ छ । गैँडाकोटका एक बालक एसइईमा लेख्दालेख्दै मोबाइल हेर्ने रहरले परीक्षा नै छोडेर घर आएपछि सुधारगृहमा राखेको पनि पाइएको चापागाईंले सुनाउनुभयो ।
कावासोती–१०, चिलाहामा रहेको सफलता पुनस्र्थापना केन्द्रका सञ्चालक मदन दराईले २०७८ सालमा स्थापना भएको यो केन्द्रले अहिलेसम्म मोबाइलको लत लागेका दुई सयभन्दा बढी बालकलाई उपचार गरेर घर पठाएको बताउनुभयो । “हाम्रो छ महिनाको कोर्स हुन्छ, कतिपय तीन महिनामै ठिक भएर पनि गएका छन् भने कसैलाई पूरै अवधि पनि राख्नु परेको छ, कतिपय त फेरि फर्केर पनि आउने गरेका छन्,” उहाँले भन्नुभयो ।
कावासोती–९ मा रहेको निर्णय फर चेन्ज नामक सुधार केन्द्रमा रहेका एक १२ वर्षीय बालक घर बस्दा मोबाइल हेरिरहने बानीले विद्यालय जानै नसक्ने भएपछि तीन महिनादेखि यहीँ बसी विद्यालय आउजाउ गर्ने गरेको सुधार केन्द्रका सञ्चालक दीपेन्द्र प्रजापतिले बताउनुभयो । यस्तै समस्याले कक्षा ११ मा पढ्ने दुई जना १७ वर्षका र एक १३ वर्षीय बालक कावासोतीकै प्रार्थना नेपाल पुर्नस्थापना केन्द्रमा तीन महिनादेखि बसिरहेका सञ्चालक प्रकाश पुलामीले बताउनुभयो ।
बालबालिकामा अत्यधिक मोबाइल हेर्ने बानीले लत लागेर सुधारगृहमा जानुपर्ने समस्या बढिरहेको सञ्चालकले बताएका छन् । बालबालिकालाई भुलाउन मोबाइल चलाउन दिँदा उनीहरू बिस्तारै गेम खेल्ने र गेममा हार्दा आक्रामक हुने, झनक्क रिसाउने, मोबाइल, ट्याब भित्तामा ठोक्ने र कहिलेकाहीँ हिंसात्मक हुने गरेकाले सुधार केन्द्रमा हाल्नु परेको अनुगमनका क्रममा पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो । मोबाइल ‘प्रयोग गर्न जाने फलिफाप, दुरुपयोग गरे अभिशाप’ हुने भएकाले अभिभावकको निगरानी आवश्यक रहेको बताउनुहुन्छ प्रार्थना नेपाल पुनस्र्थापना केन्द्रका मनोपरामर्शदाता एवं समाजशास्त्री करुण लम्साल ।
सुधार केन्द्रमा बसेर सुधारिएर आउनेलाई समाजले हेर्ने दृष्टिकोण नै गलत भएकाले त्यो सोच बदल्नुपर्ने उहाँको भनाइ छ । बालबालिका गलत सङ्गतले, मानसिक, सामाजिक कारणले दुव्र्यसनमा फस्न सक्ने भएकाले उपचार पाउने उसको नैसर्गिक अधिकार भएको लम्सालको भनाइ छ । बाल्यकालमा दुव्र्यसनमा पर्नु देखासिकी मुख्य कारण रहेकाले अभिभावक सबैभन्दा बढी सचेत र जिम्मेवार हुनुपर्ने लम्सालको सुझाव छ ।