• १५ चैत २०८२, आइतबार

‘जिल्लाको नाम ‘नवलपुर’ बनाउन पहल गर्छु’

blog

नवलपुर, चैत १३ गते । मुलुक सङ्घीय संरचनामा गएपछि नवलपरासी जिल्लालाई टुक्र्यााएर सतहत्तरौँ जिल्लाका रूपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बनाइयो । १० वर्षसम्म पनि संविधान संशोधन गर्न नसक्दा बोलीचालीमा नवलपुर भनिए पनि सरकारी कामकाजमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) लेख्नुपर्ने निकै झन्झटिलो प्रक्रिया हटेको छैन । त्यसैले नवलपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजन गौतमले जिल्लाको नामकरण गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ । 

तत्कालका लागि सरकारी कागजात, साइनबोर्ड र सार्वजनिक प्रयोगमा ‘नवलपुर’ नामलाई प्राथमिकता दिन भन्ने र जिल्लाको नाम संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने उहाँले बताउनुभयो । संसदीय इतिहासमा लगातार रूपमा ३४ वर्षपछि कांग्रेसको एकछत्र राज भएको सो क्षेत्रमा कांग्रेसको विरासत भत्काउँदै सिंहदरबार छिरेका गौतमले नवलपुरका पहाडी क्षेत्रमा प्रशासनिक पहुँचको कमी, बेरोजगारी र युवाको पलायन, नारायणी नदी कटान, सुकुमवासी समस्या, कृषि उत्पादनको बजार अभाव, जीर्ण उद्योग तथा संरचना जस्ता समस्या पहिचान गर्नुभएको छ । यी समस्यालाई अल्पकालीन र दीर्घकालीन योजना बनाई जिल्लाको विकास गर्ने आफूले योजना बनाएको बताउनुभयो । 

जिल्लाको पहाडी क्षेत्रमा तत्काल अस्थायी सेवा केन्द्र सञ्चालन गर्ने, कटान रोक्न तटबन्ध र आपत्कालीन बजेट तर्जुमा गर्ने, सुकुमवासीको पहिचान गरी अस्थायी व्यवस्थापन गर्ने,  कृषि उपजमा न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र युवाका लागि सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने उहाँका तत्कालीन योजना रहेका छन् । 

उहाँका अनुसार दीर्घकालीन समाधानका लागि पहाडी क्षेत्रमा सेवा पहुँच र सुशासनका लागि स्थायी इलाका प्रशासन कार्यालय स्थापना गर्ने, प्रशासनिक सरलता, पहिचान र ब्रान्डिङका लागि एकीकृत नाम प्रयोग गर्ने तथा स्थानीय, प्रदेश र सङ्घीय तहबिच समन्वय गरेर कार्यान्वयन गराउनु पनि रहेको छ । आर्थिक सुधारका लागि जिल्लालाई कृषि, पर्यटन र उद्योगको केन्द्र बनाउन सकिने उहाँको भनाइ छ । गौतमले भन्नुभयो, “देवघाट र गैँडाकोट क्षेत्रलाई धार्मिक तथा आन्तरिक पर्यटन केन्द्रका रूपमा विकास गरिने छ, होमस्टे, इको–टुरिजम र स्थानीय संस्कृति प्रवर्धन गरिने छ । साना तथा मझौला उद्योगमा लगानी आकर्षण गरिने छ ।” निर्माण, कृषि प्रशोधन, पर्यटन र साना व्यवसायका लागि छोटो अवधिका तालिम सञ्चालन गरी रोजगारी वृद्धि गर्ने गौतमले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अदुवा, तरकारीका लागि सङ्कलन केन्द्र र न्यूनतम समर्थन मूल्य; प्रशोधन उद्योगमा स्थानीयलाई प्राथमिकता दिएर रोजगारमूलक बनाइने छ ।” खण्डहर अवस्थामा रहेको गैँडाकोटको भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्ने तथा एक वडा–एक उत्पादन कार्यक्रमलाई ब्रान्डिङ गर्ने आफ्नो योजना पनि रहेको उहाँले बताउनुभयो । 

शिक्षाशास्त्र, व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएका गौतम हाल विद्यावारिधि गर्दै हुनुहुन्छ । करिब २० वर्ष शिक्षा क्षेत्रमा सक्रिय रहँदै २८ वर्षकै उमेरमा देवचुली क्याम्पसको प्रमुख हुनुभएका गौतम २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भई २४ हजार ३०५ मत प्राप्त गरी नेपाली कांग्रेसका डा. शशाङ्क कोइरालासँग दुई हजार ७६२ मतान्तरले पराजित हुनुभएको थियो तर दोस्रो प्रयासमा ५० हजार ९४५ मत प्राप्त गर्दै ३४ हजार ६५२ मतान्तरले कांग्रेसका बालकृष्ण घिमिरेलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभयो ।   

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।