• ८ वैशाख २०८३, मङ्गलबार

दुर्लभ एकसिङे गैँडाको चोरीसिकार शून्य

blog

चितवन राष्ट्रिय निकुञ्जभित्र एकसिङे गैँडा ।

नवलपुर, वैशाख ८ गते । विश्वकै दुर्लभ एकसिङे गैँडाको चोरीसिकार नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्जले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । पछिल्लो २९ महिनाभन्दा बढीको समयमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एउटा गैँडा पनि चोरीसिकारबाट नमरेको निकुञ्जले दाबी गरेको छ । 

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुई वटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीसिकार हुन नपाएको उहाँको भनाइ छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले यो सबैको प्रयासले मात्र सफलता हात परेको बताउनुभयो । उहाँले भन्नुभयो, “तिनै तहका सरकार, स्थानीय नागरिक, संरक्षणकर्मी, सुरक्षाकर्मी र निकुञ्जको संयुक्त पहलमा शून्य चोरीसिकार बनाउन हामी सफल भएका छौँ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य सधैँभरिका लागि शून्य चोरीसिकार बनाउने अभियानमा सरकार रहेको बताउनुहुन्छ । 

मरे १९ गैँडा 

चितवन राष्ट्रिय निकुञ्जमा चालु आव २०८२/८३ को नौ महिनाको अवधिमा विविध कारणले १९ वटा गैँडाको मृत्यु भएको हो । 

निकुञ्जका अनुसार मरेका १९ मध्ये १० वटाको मृत्यु प्राकृतिक कारणले भएको हो । पाँच वटा अर्को गैँडासँग जुधेर घाइते भई मरेका हुन् भने दुई वटा दलदलमा फसेर र एउटा करेन्ट लागेर मरेको सूचना अधिकारी थापाले बताउनुभयो । एउटा गैँडा गस्तीमा रहेको नेपाली सेनाले आत्मरक्षाका लागि चलाएको गोली लागेर मरेको हो । गत आवमा निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा २८ वटा गैँडाको मृत्यु भएको थियो । चोरी सिकारबाट गैँडा मर्न रोकिए पनि प्राकृतिक कारणले गैँडाको मृत्यु हुने क्रम बढिरहँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

एउटै गोलीले म¥यो गैँडा

गत चैत २६ गते निकुञ्जमा नेपाली सेनाले आत्मरक्षाका लागि चलाएको एउटै गोलीले लागेर गैँडाको मृत्यु भएको पुष्टि भएको छ । नेपाली सेना नयाँ गोरख गण सेहरी पोस्टबाट खटिएका नेपाली सेनाका जवानले आत्मरक्षाका लागि चलाएको गोलीले २४ वर्षको पोथी गैँडा मरेको थियो ।

निकुञ्जको भित्री भागमा गस्तीमा गएको सेनाका जवान विशाल घर्ती क्षेत्रीलाई बच्चासहितको गैँडाले आक्रमण गरेको थियो । गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि १४ राउन्ड हवाई फायर गर्दासमेत गैँडा नभागेपछि हानेको एउटै गोलीले गैँडा मरेको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको उहाँले बताउनुभयो । 

निकुञ्ज प्रमुख पन्तले भन्नुभयो, “मावनीय क्षति हुन नदिनका लागि हवाई फायरबाटै भगाउने पहिलो प्रयास भएको थियो तर बच्चासहितको गैँडा नभागेर थप आक्रमण गर्न थालेपछि बाध्यात्मक अवस्थामा गोली चलाइएको थियो । एउटै गोली लागेर गैँडा मरेको पोस्टमार्टम रिपोर्टले देखाएको छ । कहिलेकाहीँ विशाल जनावर पनि एउटै गोलीले मर्दो रहेछ, यो दुर्लभ दुर्घटना हो ।” 

मानवीय क्षति घट्यो 

निकुञ्जका अनुसार चालु आवमा मानव र वन्यजन्तुबिचको द्वन्द्वबाट भएको असर पनि कम भएको छ । गत आवमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको ज्यान गएको थियो तर चालु आवको नौ महिनामा तीन जनाले ज्यान गुमाएका पन्तले जानकारी दिनुभयो । स्थानीय माछा मार्न, निगुरो टिप्न तथा घाँस दाउराका लागि निकुञ्जभित्र छिर्ने क्रममा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् ।   

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।