• २ पुस २०८२, बुधबार

प्रतिलिपि अधिकार खोजीमा चार दशक

गीत सोतीको, कमाइ अर्कैको

blog

कवि दीपक सोती

नवलपुर, पुस २ गते । ‘म्याउँ म्याउँ बिरालो’ बोलको गीत ‘नानीबाबु’ नामक युट्युब च्यानलबाट १६ करोड ६७ लाख पटक हेरिएको छ । सोही च्यानलले फेरि अपलोड गरेको त्यही गीत चार करोड ९३ लाख पटक हेरिएको छ । चुनुमुनु टिभी नामको युट्युब च्यानलबाट ४७ लाख, प्रशन्न बिसी नामको च्यानलबाट अपलोड भएको त्यही गीत २२ लाख पटक हेरिएको छ । 

यस्ता दर्जनौँ युट्युब च्यानल छन्, जसले यही बालगीतलाई विभिन्न व्यक्तिको स्वरमा गाउन लगाएर अपलोड गरेका छन् तर यी कुनै पनि च्यानलले यो गीतका सर्जक को हुन् भनेर कतै खुलाएका छैनन् । बरु उनीहरूले चेतावनी दिएका छन् कि यस च्यानलमा रहेका गीत, सङ्गीत तथा भिडियो कपी तथा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ ।

यो बालगीतका वास्तविक सर्जक नवलपुरको कावासोती–११ का ७८ वर्षीय कवि दीपक सोती हुनुहुन्छ भन्ने सायद कमैलाई थाहा होला । विसं २०२५ मा लेखेको यो गीत उहाँ आफैँले २०२८ सालमा रत्न रेकर्डिङ स्टुडियोबाट रेकर्ड गराउनुभएको छ तर त्यसको पहिचान कतै भेटिँदैन । अनि करोडौँ पटक युट्युबमा यो गीत बज्दा पनि वास्तविक सर्जकको नाम उल्लेख छैन । 

गीत मात्र होइन, एकता प्रकाशनले प्रकाशन गरेको नेपाली पाठ्यपुस्तकमा समेत यो गीत समावेश छ तर त्यहाँ पनि उहाँको नाम समावेश छैन । कतै पनि आफ्नो पहिचान नभेटिँदा सर्जक सोतीको मन दुखेको मात्र होइन, पीडा दिएको छ । 

मञ्चमा उक्लिएपछि सबै उमेर समूहका दर्शक, श्रोताको मन जित्न सफल सोतीको मनमा भने विगत तीन दशकदेखि एउटै पीरले डेरा जमाएको छ ‘म्याउँ म्याउँ बिरालो’ आफ्नो भनेर प्रमाणित कसरी गर्ने ?  विसं २०२८ तिर रत्न रेकर्डिङमा सङ्गीता थापाको स्वरमा सो बालगीत रेकर्ड भएको थियो । आफैँले लेखेको गीतले पनि आफ्नो जीवनकालमा आफ्नै नाम दिन पाउँदिनँ कि भन्ने पिरलोले दिनरात उहाँलाई सताउने गरेको छ ।

“‘नरोक मलाई’ बोलको कविता लेखेर जिल्लास्तरीय प्रतियोगितामा दोस्रो भई कवि सिद्धिचरण श्रेष्ठबाट त्यो बेलाको ५० रुपियाँ पुरस्कार पाएपछि म कविता लेखनमा हौसिएको थिएँ,” विगत सम्झिँदै सोतीले भन्नुभयो, “विसं २०२५ असारको महिना शनिबारको दिन थियो, मेरी आमा खेतमा जानुभएको थियो, घरमा भाइलाई हेर्दै बसेको बेला बिरालो आएर कराहीको दुध खाँदै थियो, त्यही देखेपछि यो गीत लेखेको हुँ ।” 

२०२८ सालतिर लमजुङबाट पाँच दिन पैदलयात्रा गरेर काठमाडौँ गएको बेला प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास वैष्णवसँग उहाँको भेट भयो । वैष्णवको निवास डिल्लीबजारमा चिया पिउँदै गर्दा यो गीत देखाएपछि रेकर्ड गर्ने सल्लाह उहाँबाट पाएको सर्जक सोती सम्झिनुहुन्छ । 

उहाँले श्यामदासबाट सल्लाह मात्रै पाउनुभएन, उस्ताद भैरवबहादुर थापासँग भेट गराइदिनुभयो । भेटपछि भैरवबहादुरकै सङ्गीत र उहाँकी १० वर्षीय छोरी सङ्गीता थापाको स्वरमा रत्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको सोतीलाई सम्झना छ । रत्न रेकर्डिङको प्लेट नं ८१ मा गीत रेकर्ड भएको र गीत रेकर्डपछि ८५ रुपियाँ पारिश्रमिकसमेत पाएको सोतीले स्मरण गर्नुभयो । उहाँको गीतसँगै अर्को प्लेटमा ‘मै छोरी सुन्दरी’, र ‘क ख ग घ’ बोलको गीत रेकर्ड भएको उहाँले बताउनुभयो । 

रत्न रेकर्डिङका तत्कालीन प्रबन्ध निर्देशक वरिष्ठ सङ्गीतकार दीपक जङ्गमले सोतीलाई अगाडि राखेर आफैँले यो गीत रेकर्ड गराएको बताउनुहुन्छ । “सोतीजीसँग मेरो पुरानो सम्बन्ध हो, गीत राम्रो लागेर मैले नै रेकर्ड गराएको हुँ तर दुर्भाग्य त्यसको प्रमाण कतै भेटिएन, गायिका सङ्गीतालाई पनि सोधेँ, उहाँले पनि राख्नुभएको रहेनछ,” जङ्गमले भन्नुभयो, “प्रमाण पाउने एउटा आधार रेडियो नेपाल मात्र हो, किनकि यो अहिले मात्र होइन, त्यतिबेलादेखिकै चर्चित गीत हो र धेरै पटक त्यहाँ बजेको पनि छ ।”

रत्न रेकर्डिङमा रेकर्ड भएपछि यो गीत रेडियो नेपालसहित अल इन्डिया रेडियो, श्रीलङ्का र चीनको रेडियोबाट प्रसारण हुने नेपाली कार्यक्रममा समेत बज्ने गरेको सोतीले बताउनुभयो । “सुरु सुरुमा त्यति गीतको चासो राखिनँ तर बर्सौंदेखि आफ्नै गीतको लेखक खोजिरहेको छु, अत्तोपत्तो छैन,” उहाँले भन्नुभयो, “पछि त यही गीत मेरो नाम नराखी पाठ्यपुस्तकमा पनि छापिएर आएछ, थाहा पाउँदा दुःख लाग्यो ।” 

गीत पाठ्यपुस्तकमा बिना नाम छापिएपछि कवि सोतीले वरिष्ठ सङ्गीतकार जङ्गमकै सल्लाहमा तत्कालीन शिक्षा सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गर्नुभयो तर नाम आएन । 

२०४६ सालको जनआन्दोलनपछि २०५०÷५१ ताका आफ्नो नाम नराखी पाठ्यपुस्तकमा छापेको एकता प्रकाशन पुगेर उहाँले आपत्ति पनि जनाउनुभयो । त्यसपछि नाम राखिदिने आश्वासनसमेत 

पाउनुभएको थियो ।  

माफी मागेर पारिश्रमिकस्वरूप दुई हजार रुपियाँ प्रकाशकले दिएको सम्झना सोतीलाई ताजै छ । 

“नाम त हालेनन् हालेनन्, झन् सम्पादन गर्दा एक जना वस्ती थर भएकाले गीत नै बिगारिदिएछन्,” उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “अहिले त झन् युट्युबमा आएको छ, हेर्न पनि धेरैले हेरेका रहेछन् तर मेरो नाम नै छैन, त्यहीमाथि गीत पनि बिगारेका रहेछन्, जसले गर्दा मैले पाउनुपर्ने रोयल्टी पनि 

पाउन सकिनँ ।”

आफूसँग भएको गीतको क्यासेट विसं २०४३/४४ ताका पोखरामा डेरा सर्ने क्रममा फुटेपछि गीतलाई आफ्नो नाम दिन काठमाडौँमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यालयमा बर्सेनि धाइरहेको उहाँले बताउनुभयो । उहाँलाई आफ्नो जीवनकालमै त्यो गीतको रचनाकारका रूपमा आधिकारिक रूपमा नाम लेखाउन पाए जीवनकै ठुलो उपलब्धि हुने लागेको छ ।

रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा वस्ती पनि त्यो गीत कवि सोतीकै भएको बताउनुहुन्छ । आफूले रेडियो नेपालमा बालकार्यक्रम चलाउँदा दर्जनौँ पटक यो गीत बजाएको उहाँको भनाइ छ । रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत पूर्णचन्द्र घिमिरेले पुस्तकालय, कम्प्युटर, रजिस्टर सबैतिर खोजी गर्दा पनि उहाँको शब्दको गीत भए पनि नाम नरहेको बताउनुभयो । 

“२०७२ को महाभूकम्पको बेला धेरै पुराना क्यासेट फुटे, सायद सोतीजीको पनि त्यही बेला फुटेको हुनु पर्छ, हामीले सबै पुराना क्यासेटहरूलाई डिजिटलाइज गरिरहेका छौँ, धेरै सकियो,” अब थोरै मात्र बाँकी छ, घिमिरेले भन्नुभयो, “यो गीतको सर्जक उहाँ नै भएको प्रमाण भेटेर दिन पाए म आफैँ पनि भाग्यमानी ठान्ने थिएँ ।” उमेरले ७८ वर्ष लाग्नुभएका सोती यो गीत आफ्नो बनाउन अब कानुनी लडाइँ लड्ने योजनामा हुनुहुन्छ । “गीतको प्रतिलिपि अधिकार आफ्नो नाममा गराउन मन छ । उमेर पाको भए पनि हिम्मत हारेको छैन, एक पटक फेरि काठमाडौँ जान्छु, गुरुहरूसँग सल्लाह गर्छु र कानुनी लडाइँ लड्छु,” उहाँ भन्नुहुन्छ । 

यस्तो छ गीत

म्याउँ म्याउँ बिरालो यतातिर आऊ

मेरो नाना काटिदिने मुसा मारी खाऊ

कराहीको दुध खाइदेउ भने

म त भोकै हुन्छु, नखाइदेऊ भन्छु

बाबा भन्छिन् खाली बुबु चोर्न जाली

आमा भन्छिन् चोर्ली भाडाहरू फोर्ली

बुबु चो¥यो भने लट्ठीले म हान्छु

नआइज न यता चोर्नै म्याउँ भन्छु

विसं  २००६ मा लमजुङको कुन्छामा जन्मिनुभएका कवि सोती अहिले पनि अनवरत रूपमा साहित्य सिर्जनामा व्रिmयाशील हुनुहुन्छ । ‘नरोक मलाई’ ‘मेरी  मस्र्याङ्दी’, ‘फुल्न नसकेका फूलहरू’ ‘मेरी आमा रुँदी हुन्’ ‘दुई बत्ती निभेर’ लगायत दर्जनौँ कविता सङ्ग्रह, समालोचना र शोक काव्य, ‘जगदम्बा काव्य’  सहित उहाँका थुप्रै पुस्तक प्रकाशित छन् ।


  

Author
बोमलाल गिरी

गिरी गोरखापत्रका लागि नवलपुर समाचारदाता हुनुहुन्छ ।