प्रकाशविक्रम शाह
धनगढी, फागुन १८ गते । सुदूरपश्चिममा यसपटक धेरै रोचक पक्ष देखिएका छन् । दुई जना उम्मेदवार लगातार चौथो पटक चुनाव जित्ने दाउमा रहनेदेखि, चुनावकै दिन दल परिवर्तन र तीन वर्षमा तीन चिन्हबाट चुनाव लड्नेजस्ता रोचक पक्ष सुदूरपश्चिममा देखिएका छन् ।
चारपटकसम्म मन्त्री हुनु भएका बैतडीका दामोदर भण्डारी सोही जिल्लाबाट लगातार चौथो पटक चुनाव जित्ने दाउमा हुनुहुन्छ । एमालेका उम्मेदवार भण्डारीको नेपाली कांग्रेसका चतुर चन्दले कडा टक्कर हुने अनुमान छ । सो क्षेत्रमा नेकपाका प्रमानन्द भट्ट र रास्वपाका हरिमोहन भण्डारीले पनि राम्रो भोट ल्याउने चर्चा छ ।
लगातार चौथो पटक जित्नका लागि प्रेमबहादुर आलेमगर कैलाली क्षेत्र नम्बर ५ बाट नेकपाको उम्मेदवार बन्नुभएको छ । उहाँ २०७०, २०७४, २०७९ मा लगातार डोटीबाट जित्नु भएको थियो । यो क्षेत्रमा नेकपा, कांग्रेस, एमाले र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
अछाम क्षेत्र नम्बर १ र २ चुनाव झन रोचक छ । सो क्षेत्रमा पाँचपटक एमालेको सूर्च चिन्हबाट चुनाव लड्नु भएका डा. भीमबहादुर रावल नेकपाको तारा चिन्हबाट चुनाव उठ्नु भएको छ । क्षेत्र नम्बर १ र २ बाट चुनावकै बेला उम्मेदवारले दल परिवर्तन गरेका कारण पनि रोचक बनेको छ । क्षेत्र नम्बर १ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता दीपक साउद मनोनयनको केही दिन अघि एमाले प्रवेश गरेर चुनाव लड्नु भएको छ । साउद माओबादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा सक्रिय हुनुहुन्थ्यो । सो क्षेत्रमा नेकपाबाट डा. भीमबहादुर रावल र कांग्रेसबाट भरतबहादुर स्वाँर उम्मेदवार हुनुहुन्छ ।
क्षेत्र नम्बर २ मा पनि ६० वर्षीय बलबहादुर कुँवर कांग्रेस छोडेर नेकपाको उम्मेदवार बन्नु भएको छ । ४६ वर्षदेखि कांग्रेसमा क्रियाशिल कुँवर २०४९ मा चिट्टामा जिविस सदस्य हार्नु भएको थियो । उहाँ क्षेत्रीय सभापति, निरन्तर महाधिवेशन प्रतिनिधि र १२ औ महाधिवेशनमा महासमिति प्रतिनिधि शेखर कोइराला समुहबाट खुला केन्द्रीय सदस्य लड्नु भएको थियो । उहाँ २०७० मा संविधान सभा र २०७४ मा प्रदेश सभामा कांग्रेसका उम्मेदवार बन्नु भएको थियो ।
यस्तै कैलाली क्षेत्र नम्बर १ बाट नेकपाका रामलाल डगौरा लगातार तीन चुनावमा तीन चिन्ह परिर्वतन गर्नु भएर चर्चामा हुनुहुन्छ । उहाँ २०७४ मा तत्कालिन नेकपा (माओबादी) को हसियाँ हतौडाबाट वडाअध्यक्ष, २०७९ मा नागरिक उन्मुक्ती पार्टीको ढकियाबाट टीकापुरको मेयर र अहिले तारा चिन्हबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु भएको छ ।