रवीन्द्र उप्रेती
बर्दिबास, फागुन १८ गते । गौशाला नगरपालिका –५ स्थित गौशाला बजारमा सोमबार साँझ बालबालिका खेल्ने क्रममा एक महिलाले बच्चा चोरी गर्न लागेको हल्ला फैलिएपछि अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षकर्मीले १७ राउण्ड हवाइ फायर गरेको छ ।
प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गामुढा लागेर सशस्त्रतर्फका २ जना प्रहरी जवान घाइते भएका छन् । घटनास्थललाई अहिले सेनासहितको सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ ।
बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मूख्यालयका अनुसार तनाव चर्कदै गएपछि सोमवार साँझ करिव साढे ७ बजेतिर भिडले सोही वडामा रहेको समिर गेष्ट हाउसमा आगजनी प्रयास गरेपछि अवस्था उग्र बनेको थियो ।
गौशाला बजारका स्थानीय प्रत्यक्षदर्शीका अनुसार बच्चा चोरेको हल्ला फैलिएपछि एक हजार जना बढीको भिड गेष्टहाउस घेराउ गर्दै आगजनी प्रयास गरेको थियो ।
अवस्थालाई थप तनवाग्रस्त हुन नदिन सुरक्षाकर्मीले १७ सेल अश्रुग्यास प्रहार गरेको बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मूख्यालयका डिआइजी कृष्ण ढकालले बताउनुभयो ।
डिआइजी ढकालकाअनुसार संयुक्त सुरक्षा टोलीको प्रयासमा बर्दिबास तथा रामगोपालपुर नगरपालिकाबाट घटनास्थल पुगेको वारुणयन्त्रले गेष्टहाउसमा लागेको आगो नियंत्रणमा लिएको थियो ।
बर्दीबासस्थित निर्वाचन क्षेत्र न. १ स्थित बेशबाट स.प्र.ना.उ. गान्धिवराज स्याङतानको कमान्डमा ६२ जना र सशस्त्र प्रहरी २ छिन्नमस्ता बाहिनीबाट एएसआई रोशन खड्काको नेतृत्वमा ४ जना सुरक्षाकर्मीको टोली नेपाली सेना, नेपाल प्रहरीको टोली सो क्षेत्रमा खटिएको छ ।
बच्चा चोरेको आरोप लागेकी भारतीय महिलाको उद्धार गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी लगेको मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलियाले बताउनुभयो ।