काठमाडौँ, फागुन १८ गते । इरानको आक्रमणमा परेर संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सेक्युरिटी गार्डको रुपमा मिडल इस्ट कम्पनीमा कार्यरत दिवस श्रेष्ठको ज्यान गएको हो । यूएईको पराराष्ट्र मन्त्रालयले नेपाली नागरिकको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । दिवस ड्रोन निष्क्रिय पार्ने क्रममा घटनामा पर्नुभएको दूतावासले जनाएको छ ।
गोर्खा घर हुनुभएका २९ वर्षीय दिवसको निधनप्रति दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।
श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने सम्पूर्ण कार्यमा सहजीकरण दूतावासले गरिरहेको जानकारीसमेत गराएको छ ।
दूतावासले संवेदनशील परिस्थितिमा यूएइमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नसमेत विशेष अनुरोध गरेको छ ।
