राधाकृष्ण डुम्रे
वालिङ,(स्याङ्जा) फागुन १९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
मौन अवधी सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रचारप्रसारमा कडाइ गरेको छ । मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू हुने मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले सवैलाई आग्रह गरेको हो ।
मौन अवधिमा कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार, सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला तथा गोष्ठी गर्न नपाइने स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बताउनुभयो ।
सूचना निकालेर प्रशासनले मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री अनिवार्य रूपमा हटाउन आग्रह गरेको हो । यस अवधिमा कुनै पनि विधि वा माध्यमबाट मत माग्न र प्रचार–प्रसार गर्न पूर्ण प्रतिबन्ध रहेको सुवेदीको भनाइ छ ।
त्यस्तै, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत रोक लगाइएको छ ।
प्रशासनले कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनका प्रतिनिधिबाट दान, उपहार लिन वा दिन नहुने जनाएको छ । साथै निर्वाचन आचारसंहिता, २०८२ ले निषेध गरेका सबै गतिविधि मौन अवधिमा पूर्ण रूपमा बन्द रहने स्पष्ट पारेको छ ।
आचारसंहिताको उल्लङ्घन गर्ने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिँदै स्याङ्जा प्रशासनले सभ्य र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबैसँग अपिल गरेको छ ।