जनार्जन खत्री
सर्लाही, फागुन १८ गते । सर्लाहीमा बहुजन एकता पार्टी नेपालका उम्मेदवार सोमबार नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका सो पार्टीका वरिष्ठ नेता राजाराम पासवानसहित दलित अगुवा र कार्यकर्ता काङ्ग्रेस प्रवेश गर्नुभएको हो ।
पासवानसहितका नेता तथा कार्यकर्तालाई नेपाली काङ्ग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगनकुमार थापाले पार्टीमा प्रवेश गराउनुभयो । सभापति थापाले सर्लाहीको क्षेत्र नं. ४ स्थित धनकौल गाउँपालिकाको महिनाथपुरमा आयोजित एक कार्यक्रमका बीच उहाँहरूलाई काङ्ग्रेसको सदस्यता प्रदान गरी स्वागत गर्नुभएको हो ।
दलित समुदायका अगुवासमेत रहनुभएका पासवान काङ्ग्रेसमा प्रवेश गरेपछि सो क्षेत्रमा पार्टीको उम्मेदवार थप बलियो भएको काङ्ग्रेस नेताहरूले दाबी गरेका छन् । काङ्ग्रेस प्रवेश गर्नुभएका पासवानले २०७९ सालको निर्वाचनमा सर्लाही–४ बाट पाँच हजार १५८ मत प्राप्त गर्नुभएको थियो ।
पासवान काङ्ग्रेस प्रवेश गरेसँगै सर्लाही क्षेत्र नं. १ मा आधिकारिक रूपमा २८ जना उम्मेदवारको नामावली कायम भए पनि अब २७ जना मात्र प्रतिस्पर्धामा रहने भएका छन् । यस क्षेत्रमा नेपाली काङ्ग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेकपा (एमाले) बाट मनोजकुमार देवकोटा, नेपाल कम्युनिस्ट पार्टीबाट प्रमोदकुमार साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नीतिमा भण्डारी कार्की र जनता समाजवादी पार्टीबाट रामप्रकाश चौधरीलगायत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।