• ९ वैशाख २०८३, बुधबार

सेवा प्रवाहलाई गुनासोरहित बनाइने

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफल । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख ९ गते । बागमती प्रदेश सरकारले सेवा प्रवाहलाई गुनासोरहित बनाउने भएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरू, विशेषगरी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवामा सुधार गर्दै प्रविधिमैत्री, सेवाग्राहीमैत्री र गुनासोरहित सेवा प्रवाह गर्ने तयारी गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार आयोजित छलफलमा यातायात व्यवस्था कार्यालयहरूबाट प्रदान गरिँदै आएको सेवामा बढ्दो जनगुनासोलाई न्यूनीकरण गर्ने विषयमा विशेष जोड दिइएको थियो । सेवा प्रवाहलाई सरल, छिटोछरितो र पारदर्शी बनाउने लक्ष्यसहित विभिन्न सुधारका उपायहरू प्रस्तुत गरिएको थियो ।

छलफलमा सेवा सरलीकरण, प्रविधिको अधिकतम प्रयोग, कार्यालयमा हुने भिडभाड नियन्त्रण तथा विचौलियामुक्त सेवा प्रणाली विकास गर्न आवश्यक नीति तथा कार्यक्रमहरूबारे विस्तृत छलफल भएको थियो । यसका लागि ऐन, नियम, कार्यविधि, सम्झौता तथा परिपत्रमार्फत आवश्यक सुधारका क्षेत्रहरू पहिचान गरी कार्यान्वयन गर्ने योजना बनाइएको छ । 

साथै सेवा सुधारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी स्पष्ट गर्दै नागरिकले सहज र छिटो सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने जनाइएको छ ।

छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभातकुमार तामाङ, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, प्रमुख सचिव बाबुराम अधिकारी लगायत सम्बन्धित मन्त्रालयका सचिवहरू तथा कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।