• ९ वैशाख २०८३, बुधबार

पासाङ ल्हामुको ३३ औँ स्मृति दिवसमा दौड प्रतियोगिता हुने

blog

काठमाडौँ, वैशाख ९ गते । प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३३ औँ स्मृति दिवसका अवसरमा दौड प्रतियोगिता आयोजना हुने भएको छ । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको आयोजना तथा मेल्टडाउन रन क्लबको सह-आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतिष्ठानका अनुसार प्रतियोगिता नक्सालको नारायणचौरबाट सुरु हुनेछ । दौडलाई तीन किलोमिटर र पाँच किलोमिटर गरी दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ । नेपाली महिलाले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष पासाङ स्मृति दिवस मनाउने गरिन्छ ।

२०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा शेर्पाको निधन भएको थियो । सोही दिनको सम्मानमा दौडसहितका विभिन्न कार्यक्रम तय गरिएको प्रतिष्ठानकी उपाध्यक्ष लाक्पा फुटी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट सङ्कलित रकम प्रतिष्ठानले सामाजिक सेवाका कार्यमा खर्च गर्नेछ ।