ताजा जनादेश लिन घोषित कार्यक्रम अनुसार मतदान हुन अब मात्र दुई दिन बाँकी छ । मुलुकका समस्या जब जहाँको तहीँ रहिरहन्छ तब निराशाको कालो बादल मडारिने मात्रै नभई नागरिकमा असन्तुष्टि पनि चुलिँदै जान्छ । जब ती असन्तुष्टि आन्दोलनको स्वरूपमा सडकमा छरपस्ट हुन्छन्, त्यतिखेर राजनीतिले माग्ने भनेको ताजा जनादेश नै हो । यथार्थमा जेनजी विद्रोहको बलमा हुन लागेको सो निर्वाचनको तिथिको आममतदाता उत्सुकतापूर्वक प्रतीक्षारत छन् ।
फागुन २१ गते हुन लागेको यस पटकको संसदीय निर्वाचनमा प्रतिनिधि सभाका १६५ सिट र समानुपातिकतर्फ ११० सिटका लागि एक करोड उनानब्बे हजारभन्दा बढी मतदाता रहेका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ ६५ दलका र स्वतन्त्र गरी ३८८ जना महिलासहित कुल तीन हजार ४०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको छ ।
अस्थिर राजनीतिको अन्तर्य
देशमा गणतन्त्र स्थापना भएदेखि यता खासगरी ठुला दललाई आलोपालो गर्दै सरकारको नेतृत्व गर्ने जुन संयोग जु¥यो त्यो उनीहरूका लागि इतिहास रच्ने अवसर थियो । विडम्बना ! करिब दुई दशकको अवधिसम्म हाम्रो देश सत्ता समीकरणका नाममा अस्थिर राजनीतिको चक्रव्यूहमा फसिरह्यो । हरेक पटकको चुनाव एवं चुनावपछिको संसद्लाई प्रायः सत्ताको भ¥याङ बनाइँदा राजनीति अस्थिर हुन पुगेको हो भनिन्छ । यो नियति निम्तिनुका मुख्य कारण हामी मतदाता पनि धेरथोर दोषी छौँ । हाम्रो विद्यमान निर्वाचन प्रणाली पनि त्रुटिपूर्ण हुनु अर्को कारण हो । जस्तै– समानुपातिक प्रतिनिधित्व प्रणालीका कारण मत बाँडिने गरेको छ । यथार्थमा मत बाँडिनु भनेको परिणाम पनि बाँडिनु हो । सिद्धान्तमा समानुपातिकको व्यवस्था आफैँमा राम्रो किन नहोस् ।
स्थिर राजनीतिक प्रणालीले मात्र समाज परिवर्तनको धारलाई बदल्न सक्छ । स्थिर राजनीतिका बलमा नै लोकतन्त्रको रथ अडिएको हुन्छ । संविधानबमोजिम निर्दिष्ट गन्तव्यमा पुग्न स्थिर राजनीति अपरिहार्य नै हुन्छ । सिद्धान्त, विचार पार्टीको मेनिफेस्टो फरक फरक भए पनि देशको विकास र समृद्धि एवं सुशासन बहालीको सन्दर्भमा सबै पार्टी हातेमालो गर्दै अघि बढ्नुको विकल्प छैन ।
देशको शासन सञ्चालनमा स्वार्थी समूह यतिसम्म हाबी भयो कि केही दिनअघि आयोजित वार्षिकोत्सव समारोहमा ‘हाम्रो देशमा एउटा मन्त्रालयका सचिव, ठुला आयोजनाका प्रमुखको नियुक्ति या सरुवादेखि लिएर सरकार परिवर्तन एवं समीकरणको खेलमा समेत स्वार्थी समूह (विचौलिया) हाबी हुने गरेका छन्’ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिम्मेवार पदाधिकारीले समस्या या खोट व्यवस्था वा पद्धतिमा मात्रै नभएर शासन सत्ता हाँक्नेहरूको सोच, चरित्र एवं कार्यशैलीमा रहेको यथार्थ तथ्यको उजागर नै गरिदिनु भयो । समय बलवान् हुन्छ । समयको प्रवाहसँगै आमनागरिकको बुझाइ र सोचमा विस्तारै परिवर्तन आउन थालेको छ ।
मत प्रयोगमा सुझबुझ
यथार्थमा कुनै पनि निर्वाचन आफैँमा एक दूरगामी महत्वको राष्ट्रिय एजेन्डा हो । चुनावका बेला प्रलोभन देखाउने आकर्षक नारा र महìवाकाङ्क्षी घोषणापत्रबाट दिग्भ्रमित पार्ने काम हुन सक्छ नै । मतपत्रमा छाप लगाउनुअघि स्वयं मतदाता हुस्सु होइन, सजग हुनु जरूरी छ । किनकि एउटा मतपत्रमा यति शक्ति रहेको हुन्छ कि प्रकारान्तरमा त्यही मतका कारण देश नै कायापलट हुन सक्छ । अब्राहम लिङ्कनले भनेका थिए, ‘मत गोलीभन्दा पनि शक्तिशाली हुन्छ ।’
विकास र समृद्धिको गोरेटोमा देशलाई डो¥याउन सक्षम, स्पष्ट कार्य योजना, भिजन र मिसन भएको स्वप्नद्रष्टा, उच्च नैतिक धरातल भएको नेतृत्व आवश्यक पर्छ । कुनै पनि निर्वाचनका सन्दर्भमा टिकट वितरणको प्रक्रिया र मतदान गर्दाको चरणलाई महत्वपूर्ण चरण मानिन्छ । सही नेतृत्वको छनोट नै प्रस्थानविन्दु हो । अतः योग्य र सक्षम व्यक्तिलाई टिकट दिन सुरुमै चुकियो भने सक्षम व्यक्तिलाई नेतृत्वका लागि चुनेर पठाउने मतदाताको अन्तरमनको इच्छा अथवा उसको स्वविवेकीय हक अधिकारसमेत कुण्ठित हुन पुग्छ ।
‘अक्षम मानिसलाई चुन्नु भनेको अक्षम मानिसबाट मतदाता स्वयं शासित हुनु हो’ भन्ने महान् दार्शनिक प्लेटोको भनाइ कम अर्थपूर्ण छैन । त्यसैले चुनावमा टिकट दिँदा जस्तै मतदान गर्दाका बखतमा मतदाता गम्भीर हुनु पर्छ । प्राप्त अवसर गुम्न दिनु भएन । राम्रो फल चाख्न/चखाउन बिउ पनि राम्रौ रोप्नु पर्छ । कागतीको बिउ रोपेर सुन्तला किन फलेन भन्नु बुद्धिमानी ठहरिँदैन । मत प्रयोगमा विवेक र सुझबुझपूर्ण व्यवहार अपनाउनु कतिसम्म जरुरी हुन्छ भन्ने सम्बन्धमा पूर्वअमेरिकी राष्ट्रपति फ्रान्कलिन रुजवेल्टले भनेका छन्, ‘मतपत्र भनेको राइफलको गोली हो, जुन गोली कहाँ, कतिखेर, कुन अवस्थामा प्रयोग गर्ने हो भन्ने सो राइफल बोक्ने व्यक्तिको सुझबुझ र विवेकमा भर पर्छ ।’
आचारसंहिताको महत्व
राज्यका सामान्य नागरिकदेखि सबै तहतप्काका नागरिकले निर्वाचनमा समान रूपमा प्रतिस्पर्धामा उत्रिन सकून्, निर्वाचन निष्पक्ष, स्वच्छ, धाँधलीरहित, मर्यादित एवं विश्वसनीय प्रतीत हुन सकोस् भनेर नै निर्वाचनमा आचारसंहिता पालनाको अभ्यास सुरु गरिएको हो । भनिन्छ, निर्वाचन आचारसंहिता लोकतन्त्र जोगाउने लक्ष्मणरेखा हो । गत माघ ४ गते मध्यरातिबाट लागु भएको ५१ दफासहितको आचारसंहिता एवं त्यसैको परिपूरकका रूपमा निर्वाचन आयोगबाट हालै मात्र जारी गरिएको ६३ बुँदे निर्देशनसमेतको इमानदार एवं प्रतिबद्धताका साथ स्वस्फूर्त पालना गरी निर्वाचनलाई सफलिभूत पार्नु सम्बन्धित कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार, दलका नेता, कार्यकर्तालगायत सबैको कर्तव्य हो ।
देशको विकास एवं समृद्धिका खातिर लोकतन्त्र अपरिहार्य हुन्छ भने लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन । फागुन २१ गते हुने निर्वाचन विगतका निर्वाचनभन्दा केही परिवेश पृथक् छ । सही नेतृत्वलाई मत दिएर समृद्धिको साँचो सही हातमा सुम्पिन सके मात्रै मतको सुरक्षा गरेको ठहरिने छ । दार्शनिक प्लेटोले भने झैँ मत प्रयोग गर्दा चुक्नु भनेकै स्वयं मतदाताले आफूमाथि शासन गर्न अक्षम प्रतिनिधि चुन्नु हो । मतदान गर्दा मतदाता कदापि चुक्नु भएन । मतदाताको रोजाइलाई सुनिश्चित तुल्याउन सरकार, निर्वाचन आयोग एवं दल, नागरिक समाजलगायत कसैले पनि कुनै कसर बाँकी राख्नुभएन ।