नवलपुर, भदौ ६ गते । नवलपुरको कावासोतीमा नमुना सदरमुकाम निर्माणको काम धमाधम चलिरहेको छ तर नक्साबिना नै ती भवन निर्माण भइरहेका छन् । १८६ बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा नौ वटा कार्यालय भवन तथा सभा हल, गेट, पर्खाल, केरुङ्गेखोलामा तटबन्ध र सडक कालोपत्रेलगायतका काम भइरहेका छन् ।
दुई वटा ठेकेदार कम्पनीले काम थालेको हालको आयोजनाको लागत पाँच अर्ब २१ करोड रुपियाँ रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । नमुना सदरमुकामको विस्तृत आयोजना प्रतिवेदन अनुसार सबै काम पूरा गर्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुपियाँ लाग्ने अनुमान गरिएको छ
सङ्घीय सरकार अन्तर्गतको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय र ती कार्यालयका सभा हल र चार वटा एकीकृत भवनको काम अघि बढिरहेको छ । यी भवनको नक्सा भने अझै पास भएको छैन । यहाँ बन्ने संरचनाको नक्सा तयार पार्ने, ठेक्का लगाउन सबै काम सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले गर्दै आएको छ ।
कुनै पनि संरचना निर्माण गर्दा स्थानीय तहमा नक्सापास गर्नु प्रावधान रहे पनि त्यसो नगरेको पाइएको हो । कावासोती नगरपालिकाका इन्जिनियर पवन रूपाखेतीका अनुसार नमुना सदरमुकामभित्र निर्माण गरिरहेको कुनै पनि भवन तथा संरचनाको नक्सापास गरिएको छैन ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपडबहादुर थापाले पनि सदरमुकामभित्र निर्माण भएका भवन तथा संरचनाको नक्सापास नगरेको स्वीकार गर्नुभएको छ । उहाँले भवन निर्माण हुँदै जाँदा नक्सापासको प्रक्रिया पनि अघि बढाउने बताउनुभयो ।
सदरमुकामको पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । यो परियोजना २०८४ कात्तिक २८ भित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । कावासोती नगरपालिका–३ मा रहेको स्थानीय ज्योतिकुञ्ज सामुदायिक वनको १८६ बिघा जग्गा मन्त्रीपरिषद्को निर्णयबाट नेपाल सरकारको नाममा लालपुर्जा प्राप्त भएको थियो । हाल आयोजना स्थलमा चौधरी कन्स्ट्रक्सन प्रालि रौतहट र समानन्तर बुद्ध हिमाली जेभी पुरानो बानेश्वर काठमाडौँले निर्माण गरिरहेका छन् । आयोजनाका इन्जिनियर दीपेन्द्र केसीका अनुसार दैनिक २५० कामदारले आवासीय रूपमै काम गरिरहेका छन् ।
२०८४ कात्तिकसम्म सक्ने गरी सात किलोमिटर बाटो कालोपत्रे, नाला, फुटपाथ, पर्खाल र केरुङ्गेखोलामा डेढ किलोमिटर ग्याबियन भर्ने काम पनि एकसाथ अघि बढाइने भएको छ । देशकै नमुनाका रूपमा निर्माण गर्न थालिएको सदरमुकाम स्थलमा सङ्घीय सरकारका २२ र प्रदेश अन्तर्गतका ११ कार्यालय रहने छन् । त्यस अतिरिक्त कावासोती नगरपालिकाको भवन, २५ हजार दर्शक अट्ने फुटबल रङ्गशाला र १५ हजार दर्शक क्षमताको क्रिकेट मैदान पनि यहीँ बन्ने निधो भएको छ ।
२०७२ सालमा नेपालको गणतान्त्रिक संविधान जारी हुँदा ७५ जिल्लाबाट मुलुक ७७ जिल्लामा परिणत भएको थियो । रुकुम र नवलपरासी टुक्रिएर पूर्वी रुकुम र नवलपुर दुई जिल्ला थपिएका थिए । कान्छो जिल्ला नवलपुरका सरकारी कार्यालयले आफ्नै भवन नहुँदा भाडाका घरबाट सेवा प्रदान गर्दै आइरहेका छन् । नमुना सदरमुकाम निर्माणका लागि सरकारले पहिलो चरणमा ८० करोड र दोस्रो चरणमा चार अर्ब बजेट सुनिश्चित गरिसकेको छ ।
कावासोतीका अन्य केही सरकारी कार्यालय, जनप्रतिनिधिले निर्माण गरेको संरचना र व्यापारीले निर्माण गरेका भवनको पनि नक्सापास नगरेको पाइएको छ । कावासोती नगरपालिकाका इन्जिनियर पवन रूपाखेतीका अनुसार सेन्ट्रल कलेजले कावासोतीमा निर्माण गरेको भवन चार तलाको मात्र नक्सापास भएको छ तर उक्त भवन सात तलाको निर्माण गरिएको छ ।