• २३ वैशाख २०८३, बुधबार

मकवानपुरमा पानीसहितको हावाहुरीबाट २६ घरपरिवार प्रभावित, २२ लाखभन्दा बढीको क्षति

blog

मकवानपुरको राक्सिराङ गाउँपालिका-९ मा हावाहुरीले क्षति पुर्‍याएको घर र प्रभावित परिवार । तस्बिर :योगेश तामाङको सामाजिक सञ्जारबाट ।

राममणि दाहाल

मकवानपुर, वैशाख २३ गते । पानीसहित आएको हावाहुरीले मकवानपुरको आधादर्जन गाउँपालिकामा ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।

हावाहुरीले घरगोठसहित अन्नबालीमा क्षति भएको छ । हावाहुरीले इन्द्रसरोवर गाउँपालिका १ मार्खु स्थित सरस्वती बालबोधनी माविको माथिबाट सल्लाको रूख ढली जस्तापातामा क्षति पुगेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार सोमबार पानीसहित आएको हावाहुरीले २६ घरपरिवारको घरगोठसहित अन्न बालीमा क्षति पुगेको छ ।

२२ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । मकवानपुरको कैलाश गाउँपालिका-९, घैराङटारका ५० वर्षीय बहादुर गलानको ढुङ्गामाटोले बनेको एक तल्ले घरको जस्ताको छानो उडाउँदा जस्ता र अन्नपात  गरी एक लाख ५० हजार बराबर र स्थानीय ५४ वर्षीया कालिमाया वाइबाको ढुङ्गा माटोले बनेको दुई तल्ले घरको जस्ताको छानो उडाइ जस्तापातासँगै अन्नपात र काठपात गरी दुई लाख २० हजार रुपियाँ बरारको क्षतिभएको प्रहरीको भनाइ छ ।

यस्तै स्थानीय तिलक बहादुर घलान,  विष्णुमाया लामा, मानबहादुर नेगी, रामहरी घलान, दिल बहादुर स्याङतान, भक्तबहादुर वाइबा र सुरजबहादुर घलानको घरमा हावाहुरीले क्षति पुगेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, लेनडाँडाका मङ्गल सिंह तितुङ, भीमफेदी गापा-७, पाण्डपपोखरीका मानबहादुर डिम्डुङ र वडा नम्बर-७, मोहभिरकी शान्ता राणाको जस्ताले छाएको छाना, काठ उडाई क्षतिभएको छ ।

भीमफेदी गापा-२, थाक्लेका रमन घलेको कुखुरा फर्मको जस्ता उडाउँदा १६ वटा कुखुरा मरी ५० हजार रुपियाँ  बराबरको क्षति हुन गएको छ ।

हावाहुरीले भीमफेदी गापा-२, दमारका रणबहादुर थिङ, भीमफेदी गापा-९ का शङ्कर थिङको खाजा नास्ता खानलाई बनाएको घुम्तीमा क्षतिसँगै लोकल कुखुरा छ वटा मरेको छ ।

मकवानपुरको इन्द्रसरोवर गापा-३, मगरगाउँका प्रवीन थापा मगरको घरको जस्ताले छाएको छाना उठाउनुका साथै मलसमेत नष्ट भएको छ ।

यसैगरी राक्सिराङ गापा-९, खरी टोलका नरेन्द्र मल्ल ठकुरी, भोज बिक्रम सिंह, शेरबहादुर प्रजा, उत्तरकुमार प्रजा, गैरी टोल खैराङका रञ्जित नेगी, सीता रुम्बा, राक्सिराङ गापा-१, चिरघारी भन्ज्याङका राजकुमार मुक्तान, कैलाश गापा-३ का शिवलाल ओझा र चन्द्रकुमारी चेपाङको घरको जस्ताको छाना हावाहुरीले उडाई क्षतिभएको छ ।

पानीसहित आएको हावाहुरीले क्षति भएको स्थानमा प्रहरी टोली खटिगएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।