कोकिला ढकाल
इलाम, वैशाख २३ गते । गएको असोज १८ गते राति वर्षापछि आएको बाढीले बेलीब्रिज बगाएपछि पुनः इलामको पुवा खोला र जोगमाइ खोलाको बेलीब्रिजको काम थालिएको छ ।
मेची राजमार्गको वैकल्पिक मार्गका रुपमा निर्माण भइरहेका केचना कञ्चनजंघा सडकअन्तर्गत पर्ने पुवाखोला र मेची राजमार्गको गोदकस्थित सिमल गोलाइ–तिल्केनी सडकबिच पर्ने जोगमाइ खोलामा पुनःबेलीब्रिजको काम थालिएको हो ।
मेची राजमार्गको माइखोलास्थित राजदुवालीमाथिको सडक पटक–पटक पहिरो गएर भरपर्दो नभएपछि वैकल्पिक मार्गमा पर्ने खोलामा पुल निर्माणलाई तीब्रता दिइएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
केचना कञ्चनजंघा सडकबिचमा पर्ने माइखोलाको भासिएको बेलासे पुलमा पनि बेली ब्रिज राख्ने काम सुुरु भएको भट्टराईले बताउनुुभयो । ‘बेलासेका लागि बहुवर्षीय योजनामा २५ करोड रुपियाँ छुट्टिएको छ । यो वर्ष एक करोड रुपियाँ आयो भने बेलासेमा बेलीब्रिज राखेर यातायात सञ्चालनमा ल्याउन सकिन्छ’ भट्टराईले भन्नुुभयो, ‘पुवा खोलाको बेलीब्रिजका लागि अढाइ करोड र जोगमाइको बेलीब्रिजका लागि तीन करोड २० लाख रुपियाँमा ठेक्का लागेर काम सुुरु भएको छ । यी तीनवटै पुलहरु जेठ मसान्तभित्र सक्ने लक्ष्य छ ।’
अहिले जोगमाइ र पुवा दुुवै खोलामा बेली ब्रिजका लागि पिल्लर, जिप, जाली र ड्रिलिङको काम भइरहेको जनाइएको छ । भारतीय सरकारको प्राविधिक सहयोगमा निर्माण हुुने यी बेलीब्रिज जडान सुुरु गर्न भने भारतबाट प्राविधिकको टोली आउने र त्यसका लागि अब खबर गर्ने अवस्थामा रहेको भट्टराईले जानकारी दिनुुभयो ।
‘वर्षाले अवरोध गरेन भने सम्झौता मितिभन्दा अगावै बेलीब्रिज निर्माण गरेर यातायात सञ्चालन गर्ने लक्ष्य छ । यसरी नै वर्षा भइरह्यो भने चाँहि ढिलो हुनसक्छ’ भट्टराईले भन्नुुभयो । उहाँले मेची राजमार्ग छुट्टिएको अर्को स्थान पुवाखोला मिल गोलाइ सडक खण्डको भने काम सुरु मात्र हुने जानकारी दिनुुभयो ।
यता, मेची राजमार्गको माइखोलास्थित राजदुवालीमाथिको सडक खण्डमा भने अहिले पनि मर्मतको काम भइरहेको छ । गत वर्षको वर्षा पछिको बाढी र पहिरोका कारणअवरुद्ध भएको यो सडकखण्ड अहिले पनि पहिरोमाथि नै बनाइएको ट्रयाकमा सञ्चालनमा रहेको छ । यो खण्डमा मर्मत भइरहे पनि वर्षैभरी यातायात सञ्चालनको सुनिश्चित्ता भने नभएको सरोकारवालाको बुुझाइ छ ।