यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), वैशाख २३ गते । केही समय अघिसम्म परम्परागत रूपमा पुर्ख्यौली पेसा आरन व्यवसाय गर्नुभएका मधुवन नगरपालिका-३, ओरालीबजारका मधु विकले अहिले मधु आरन उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।
बाजे–बुवा हुँदै आफूमा हस्तान्तरण भएको सिपलाई मधुले उद्योगमा परिणत गर्नुभएको छ । ग्राहकले घरायसी र कृषि औजारहरू मर्मतसंहार गरेको कमाइले धौ–धौ मधुको जीविका चलिरहेको थियो । त्यही पेसालाई उद्योगमा परिणत गरेपछि मधुको कमाइ होइन, जीवन फेरिएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएकाले मधुको पढाइ एसएलसीसम्ममा रोकियो । क्याम्पसको खर्च जुटाउन नसकेर पढाइ छोड्नु भएको मधुले केही समय नेपालकै विभिन्न जिल्लामा गएर ज्याला मजदुरी गर्नुभयो । घरमा आएको समयमा बुवासित घरेलु र कृषिजन्य हतियार निर्माणको काम सिक्नुभयो ।
नेपालमै बसेर केही गर्ने हुटहुटी भएका मधुले तीन वर्ष अगाडि मात्र ओराली बजारको पीपलको बोटमुनि आरन खोल्नुभएको थियो । ग्राहकले ल्याएका घरेलु सामानहरू मर्मत गरेर जीविकोपार्जन चलाउनु भएका मधुले ६ महिना अगाडि मधु आरन उद्योग खोल्नु भएको छ ।
आधुनिक र कम समयमा धेरै काम गर्न सक्ने मेसिन राखेर उद्योग खोलेपछि मधुको जीवन फेरिएको छ । अहिले फलाम आँफै खरिद गरेर घरेलु हातहतियार बनाउने गर्नुभएको छ । “हँसिया, दराती, चुलसी, कुटो, कोदालो, खुर्पा, खुकुरी, खुडा, दाउ, छुरी र हलो बनाउने गरेको छु ।” उहाँले भन्नुभयो, “मैले उत्पादन गरेको औजार घरायसी प्रयोजन, खेतबारीमा प्रयोज र सामुदायिक वनले अग्निरेखा निर्माणका लागि लैजाने गरेका छन् ।”
पहिले आँफैले काम गर्ने आरनमा अहिले चार जनालाई रोजगारी दिनुभएको छ । “विदेशमा भएका दाजुलाई पनि बोलाएर रोजगारी दिएको छु” उहाँले भन्नुभयो, “उद्योगलाई अझ बढाएर थप रोजगारी सिर्जना गर्ने योजना रहेको छ ।”

पहिले बाध्यतामा सुरु गरेको आरनलाई अहिले उद्योग बनाएको उहाँले बताउनुभयो । अहिले चार जनालाई रोजगारी दिएर पनि मासिक ८० हजार बचत हुने गरेको मधुले जानकारी दिनुभयो ।
मधुका बुवा ५५ वर्षीय शेरबहादुर विक. छोराको प्रगति देखेर दङ्ग हुनुहुन्छ । “पहिले आँफै घन ठोक्नु पर्थ्याे अहिले मेसिन छ ।” उहाँले भन्नुभयो, “अहिले पहिलेको भन्दा दोब्बर काम गर्दा पनि थकाई लाग्दैन, काम पनि छिटो हुन्छ ।”
मधुलाई आरन व्यवसायीबाट उद्योगी बन्न प्रेरित सम्वर्धन परियोजनाले गरेको हो । परियोजनाले २१ जना उद्यमी छनाेटगरी उद्यामशिलता विकास तथा व्यावसायिक योजनासम्बन्धी पाँच दिने तालिमको दिएको थियो । उद्योग दर्ताका लागि सहजीकरण र उद्योगमा आवश्यक पर्ने मेसिनरी सामान खरिदको लागि सहजीकरण गरेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका पैरवी अधिकृत जयन जोशीले बताउनुभयो । मधु आरन उद्योगमा बनेका औजारहरू मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा बिक्री हुने गरेको छ ।