काठमाडौँ, वैशाख २३ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा उहाँहरूबिच नेपाल र नर्वेबीचको द्विपक्षीय सम्बन्ध, साझा हित र सहकार्यका विविध आयामबारे छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबिच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्नुभयो।
उपराष्ट्रपति यादवले भन्नुभयो, "लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यता हुन्। विकास साझेदारका रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ।" उहाँले नर्वे सरकारले विशेष गरी नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा पुर्याएको सहयोग नेपालका लागि निकै उपयोगी भएको बताउनुभयो।
नर्वेले राष्ट्रसङ्घीय शान्ति कार्य र जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय मुद्दामा खेलेको भूमिकाको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा दुई देशको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले मे १७ मा पर्ने नर्वेको संविधान तथा राष्ट्रिय दिवसको अवसरमा नर्वेली जनताको सुख र समृद्धिको कामना समेत गर्नुभयो।
भेटमा राजदूत मियोसले नेपालको शान्ति, स्थिरता र समृद्धिको कामना गर्दै शिक्षा, ऊर्जा, सुशासन र मानवअधिकारका क्षेत्रमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धता पत्रमा समावेश मुद्दामा नर्वे सहकार्य गर्न तयार रहेको समेत स्पष्ट पार्नुभयो।
राजदूत मियोसले भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा समेत दुवै मुलुकले सहकार्य विस्तार गर्न सक्ने धारणा राख्नुभयो।