जानु पाण्डे
कपिलवस्तु, वैशाख २३ गते । कपिलवस्तुका पाँच वटा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।
बुधबार एक समारोहबिच विजयनगर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले पूर्ण खोप सुनिश्चित कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने गरी अभियानलाई अझ प्रभावकारी बनाइने र बाँकी पालिकामा पनि चाँडै घोषणा सम्पन्न गरिने उल्लेख गर्नुभयो ।
गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा मगरका अनुसार विजयनगरमा एक वर्षमुनिका १ हजार १ सय १९ जना तथा ६ देखि २३ महिनासम्मका एक हजार ५६२ जना बालबालिकालाई खोप लगाइएको छ ।
यसअघि जिल्लाका बुद्धभूमि, वाणगङ्गा, महाराजगन्ज नगरपालिका र शुद्धोधन गाउँपालिका पूर्ण खोप सुनिश्चित भइसकेका छन् ।
बाँकी पाँच पालिका घोषणा प्रक्रियामा रहेको खोप फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका खोप लगाउने कार्यक्रम सञ्चालनमा रहेको छ । घोषणा भइसकेका पालिकामा शतप्रतिशत खोप सुनिश्चित गरिएको र बाँकी पालिकामा छुटेका बालबालिकालाई खोजीखोजी खोप लगाउने अभियान सञ्चालनमा रहेको छ ।
कपिलवस्तु जिल्ला यसअघि २०७० फागुन १४ गते पहिलो पटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।