रामकृष्ण बोहरा
बागलुङ, वैशाख २३ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिका-३, दमेकले आफ्नै भवनबाट सेवा सूचारु गरेको छ । हालै निर्माण सम्पन्न भवनमा सरेर वडा कार्यालयले आफ्नै भवनबाट सेवा सूचारु गरेको हो ।
बुधबार भवनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला जित शेरचनले प्रदेश सरकार र स्थानीय तह मिलेर थुप्रै कामहरू भइरहेकाले ग्रामीण बस्तीका जनताले गाउँमै सर्वसुलभ र सहज सेवा पाउने वातावरण बन्दै गएको बताउनुभयो ।
‘‘सबै काम एकै पटक सम्भव छैन, हामीले संरचनागत विकासमा पनि ध्यान दिएका छौं,’’ मन्त्री शेरचनले भन्नुभयो, ‘‘जनताले प्रत्यक्ष रूपमा सेवा पाउने स्थानीय तहलाई भौतिक संरचना सम्पन्न बनाउन लागि परेका छौं ।’’ सुविधा थपिए पनि गाउँ रित्तिने क्रम रोक्न अब विकासको मोडालिटी फेर्न आवश्यक शेरचनको भनाइ छ ।
सामुदायिक वन उपभोक्ता समितिको जीर्ण भवनबाट सेवा दिँदै आएको वडा कार्यालयको भवन बनेपछि सेवाप्रवाहमा सहज हुने जैमिनी–३, दमेकका वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताउनुभयो । ‘‘वनको भवनमा प्रशासन र जनप्रतिनिधि एउटै कोठामा बस्दा कामै गर्न अहज थियो, अब सहज हुने विश्वास छ’’ भुजेलले भन्नुभयो ।
गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र जैमिनी नगरपालिकाको साझेदारीमा वडा कार्यालयको भवन निर्माण गरिएको हो । भवन निर्माणमा आर्थिक मामिला मन्त्रालयको ४० लाख र जैमिनी नगरपालिकाको ६० लाख रुपियाँ गरी कुल एक करोडको लागतमा भवन निर्माण गरिएको छ ।
भवनमा सेवाग्राही कक्ष तथा आवश्यक प्रशासनिक संरचनसहित तीन कोठे भवन निर्माण गरिएको छ । भवनमा स्तनपान कक्ष र छतमा ट्रस्टको बैठक कक्ष बनाउने समेत योजना बनेको वडाध्यक्ष भुजेलले जानकारी दिनुभयो । भवनले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ ।
स्थानीयवासी डिलकुमारी पाण्डे, इन्द्रकली पुन, कृष्णबहादुर छन्त्याल, सिर्जना पुनको परिवारले १० लाख रुपियाँ मुल्यको १० रोपनी जमिन निःशुल्क रूपमा उपलब्ध गराएपछि माथिल्लो दमेकको भातडाँडामा वडा कार्यालयको भवन निर्माण गरिएको हो ।