• २३ वैशाख २०८३, बुधबार

अन्तर विद्यालयस्तरीय राष्ट्रिय पौडी प्रतियोगिताको तयारी

blog

बाँकेको कोहलपुरमा आयोजना गरिने अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप हुने शिखा एकेडेमीको पौडी पोखरी । तस्बिरः गोविन्द शर्मा

गोविन्द आचार्य

बाँके, वैशाख २३ गते । वैशाख २६ गतेदेखि बाँकेको कोहलपुरमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता सञ्चालन हुनेभएको छ । नेपालगन्ज स्वीमिङ क्लब र शिखा एकेडेमी कोहलपुरले संयुक्त रूपमा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ सञ्चालन गर्न लागेका हुन् । हाल प्रतियोगिताको तयारी भइरहेको छ । 

प्रतियोगितामा देशभरका १८ विद्यालयका एक सय बढी खेलाडीले भाग लिने निश्चित भइसकेको खेल संयोजक सूर्यमणि अधिकारीले जानकारी दिनुभयो । संयोजक अधिकारीका अनुसार प्रतियोगितामा ८, १०, १२, १४, १७ र सो भन्दा माथि उमेर समूहका छात्र र छात्राबिच पौडीका २४ वटा इभेन्टमा प्रतिष्पर्धा हुने भएको छ । 

प्रतियोगिताका प्राविधिक चन्द्रराम चौधरीले दिनुभएको जानकारीअनुसार ८ र १० वर्ष मुनिका खेलाडीले २५ मिटर र सोभन्दा माथिका उमेर समूहले ५० मिटर र १०० मिटरमा प्रतिष्पर्धा गर्ने छन् । खेलाडीले फ्रि स्टाइल, ब्याक स्टोक, बेस्ट स्टोक र बटरफ्लाइ गरी चार वटा स्टोकमा सहभागिता जनाउन सक्ने छन् ।

नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानले प्रतियोगितामा काठमाडौँ, ललितपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेतलगायतका जिल्लाका विद्यालयको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिनुभयो । 

शिखा एकेडेमी कोहलपुरले गत वर्ष नेपालगन्ज स्वीमिङ क्लबको समन्वयमा प्रथम शिखा अन्तरविद्यालय पौडी प्रतियोगिता आयोजना गरेको थियो । यो विद्यालयले ४ वर्षदेखि १२.५-२५ मिटरको पौडी पोखरी निर्माण गरेर नियमित रूपमा विद्यार्थीलाई पौडी सिकाइरहेको छ । शिखा एकेडेमी गत वर्ष सम्पन्न बाँके जिल्लास्तरीय र लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगितामा प्रथम र राष्ट्रिय पौडी प्रतियोगितामा तेस्रो भएको छ ।