प्रेमराज सिम्खडा
कालीकोट, वैशाख २३ गते । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा ३ को वन क्षेत्रमा रहेको विद्युतको पोलमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका वडा ३ लुईयाटाका टिकाराम देवकोटा रहनु भएको छ । देवकोटाको बाख्रा चराउन गएका बेला बिद्युतको पोलमा छोएका कारणले करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयको भनाइ छ ।
स्थानीय हजुरा कुमारी देवकोटाका अनुसार मृतक व्यक्तिलाई विद्युत् प्रवाह भएको पोलनजिकै लडिरहेको अवस्थामा भेटिएको थियो । घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीले पोलमा केही समस्या भई करेन्ट प्रवाह भएको हुन सक्ने बताउनुभयो । मृतकको शव रास्कोट अस्पतालमा पोस्टमार्टमका लागि लगिएको उहाँले बताउनुभयो ।
बिद्युत बितरण केन्द्र कालीकोटका प्रमुख हरेन्द्र यादवले पोलमा राखेको डल्लो बाँङगो भएकाले तार पोलमा छोएका कारणले करेन्ट प्रवाह भएको बताउनुभयो ।