• २३ वैशाख २०८३, बुधबार

हर्मुजमा इरानको नयाँ नियन्त्रण नीति

blog

तेहरान, वैशाख २३ गते । विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजमा इरानले आफ्नो नियन्त्रण थप कडा बनाउँदै जहाजको आवागमनमा नयाँ ‘सार्वभौम’ नियम लागु गरेको छ । अब उक्त जलघाँटी पार गर्नुअघि सबै अन्तर्राष्ट्रिय जहाजले अनिवार्यरूपमा पूर्व अनुमति लिनुपर्ने व्यवस्था लागु गरिएको छ ।

रानको राज्य सञ्चालित प्रेस टिभीका अनुसार नयाँ प्रणालीअन्तर्गत हर्मुज हुँदै यात्रा गर्न चाहने शिपिङ कम्पनीले पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए)सँग सम्बन्धित निकायबाट विद्युतीय निर्देशन प्राप्त गर्नुपर्नेछ । ती निर्देशनमा अद्यावधिक नियम, मार्ग सम्बन्धी मापदण्ड र पालना गर्नुपर्ने सर्त समावेश हुने छन्, जसलाई सबै जहाजले अनिवार्यरूपमा अनुसरण गर्नुपर्नेछ ।

यस नयाँ प्रोटोकलअनुसार जहाजले जलघाँटीमा प्रवेश गर्नुअघि ‘ट्रान्जिट अनुमति’ लिनुपर्ने व्यवस्था गरिएको छ । इरानी राज्य मिडियाले यसलाई आफ्नो अधिकार क्षेत्रभित्र लागु गरिएको ‘सार्वभौम शासन प्रणाली’ का रूपमा व्याख्या गरेको छ, जसले रणनीतिक समुद्री मार्गमाथि नियन्त्रण अझ सुदृढ बनाउने लक्ष्य राखेको देखिन्छ ।

यो कदम इरानका संसद अध्यक्ष मोहम्मद बाघेर घालीबाफले हालै जलमार्ग नियन्त्रणसम्बन्धी ‘नयाँ समीकरण’ लागु भइरहेको बताउनुभएको घोषणापछि आएको हो । सामाजिक सञ्जालमार्फत उहाँले संयुक्त राज्य अमेरिका र उसका सहयोगीले युद्धविराम उल्लङ्घन र नाकाबन्दीमार्फत ऊर्जा ढुवानीको सुरक्षामा खतरा सिर्जना गरेको आरोप लगाउनुभएको थियो ।

घालीबाफले इरानले हालको अवस्था राम्ररी बुझेको उल्लेख गर्दै अमेरिकाका लागि विद्यमान यथास्थिति असहज रहेको दाबी गर्नुभयो । उहाँका अनुसार इरानले अझै पूर्णरूपमा आफ्नो कदम सुरु नगरेको अवस्थामा पनि वासिङ्टन दबाबमा रहेको सङ्केत देखिएको छ । यसैबिच, इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी)को नौसेनाले पनि क्षेत्रीय उपस्थितिलाई कडा बनाउँदै सबै जहाजलाई नयाँ चेतावनी जारी गरेको छ । 

आइआरजिसीले तोकिएको समुद्री मार्गको कडाइका साथ पालना गर्न निर्देशन दिँदै कुनै पनि विचलन भए सैन्य कारबाही हुन सक्ने चेतावनी दिएको छ । राज्य मिडियामार्फत जारी सन्देशमा आइआरजिसीले हर्मुज पार गर्ने जहाजका लागि इरानले निर्दिष्ट गरेको कोरिडोर नै ‘एक मात्र सुरक्षित मार्ग’ भएको जनाएको छ । यस मार्गबाहिर जाने कुनै पनि प्रयास असुरक्षित हुने र त्यसको परिणाम स्वरूप निर्णायक हस्तक्षेप गरिने चेतावनीसमेत दिइएको छ ।

यी घटनाक्रम अमेरिकी रक्षामन्त्री पीट हेग्सेथको हालैको टिप्पणीसँगै बढेको क्षेत्रीय तनावको पृष्ठभूमिमा आएका हुन् । उहाँले व्यावसायिक जहाजको सुरक्षा लागि अमेरिकी प्रयास यस क्षेत्रमा सञ्चालन भइरहेका अन्य सैन्य गतिविधिभन्दा फरक रहेको बताउनुभएको थियो । गत फेब्रुअरीदेखि नै इरानले समुद्री आवागमन नियन्त्रणलाई क्रमशः कडा बनाउँदै आएको छ । 

तरलीकृत प्राकृतिक ग्यास र कच्चा तेलको प्रमुख ढुवानी मार्गका रूपमा रहेको हर्मुज जलघाँटीमा कुनै पनि अवरोध उत्पन्न हुँदा विश्वव्यापी व्यापार र ऊर्जा बजारमा ठूलो अनिश्चितता सिर्जना हुने खतरा रहने भएकाले अन्तर्राष्ट्रिय समुदाय यसप्रति संवेदनशील बनेको छ । रासस/एएनआई