दुखाइ कम गर्ने औषधी दिएर उपचार सुरु गरिएका पशु सात दिनभित्र मरेमा औषधीको विषाक्तपन सिनो खाने गिद्धको शरीरमा सर्ने र यसले गिद्धको रगतमा युरिक एसिडको मात्रा बढाई मिर्गौलाले काम नगरेपछि गिद्ध मर्ने गरेको पाइएको छ ।
नवलपुर, फागुन ६ गते । २०७८ सालको वैशाखमा नवलपरासीको रामग्राम नगरपालिका–४, जितपुरमा ७० वटा गिद्ध मरे । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आइयुसिएन) ले अति सङ्कटापन्न सूचीमा राखेका दुई प्रजाति सानो खैरो र डगर गिद्धसहित चार प्रजातिका गिद्ध कुकुरको सिनो खाएर मरेका थिए ।
दुई वर्षअघि नवलपुरको कावासोती–११ को लोकाहा खोला किनारमा मरेको स्यालको सिनो खाएर छ वटा र नमुना सदरमुकामको केरुङ्गे खोलानजिक चार वटा लोपोन्मुख गिद्ध मरे । कैयौँ घाइते भएर अहिलेसम्म पनि उपचाररत छन् । यी केही उदाहरण मात्र हुन् । प्रकृतिलाई स्वच्छ राख्न मद्दत गर्ने प्रकृतिका कुचीकार यसरी धमाधम मर्न थालेपछि गिद्ध संरक्षणमा चुनौती थपिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । त्यसैले गिद्ध मर्नुको मुख्य कारक मानिएको विषादी नियन्त्रणका लागि सरोकारवालाले जोड दिएका छन् ।
घरपालुवा जनावर बिरामी हुँदा दुखाइ कम गर्न दिइने औषधी (पेन किलर) र ज्वरो कम गर्न दिइने एसिकोफेनेट, केटोप्रोफेनेट, न्युमिसिनाइड र डाइक्लोफेनेक नामक औषधी गिद्धका लागि विष बनिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नवलपुरकी प्रमुख डा. शर्मिला कुमाल बताउनुहुन्छ । यीमध्ये डाइक्लोफेनेक नेपालसहित भारतमा समेत प्रतिबन्धित छ भने अन्य औषधी पनि प्रतिबन्ध लगाउनुपर्ने डा. कुमाल बताउनुहुन्छ । जनावरको दुखाइ कम गर्न र ज्वरो नियन्त्रणका लागि अन्य थुप्रै विकल्प रहेकाले यी औषधी प्रतिबन्ध लगाउँदा कुनै असर नगर्ने उहाँको भनाइ छ ।
सन् १९९० को दशकको मध्यतिर आइपुग्दा पाँच करोडको सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या डाइक्लोफेनाक नामको औषधीका कारण करिब शून्यमा आएको बताइएको थियो । स्टेट अफ इन्डिया बर्डको रिपोर्ट अनुसार सन् २००६ मा पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनाक औषधीमाथि भारतमा प्रतिबन्ध लगाइएसँगै केही क्षेत्रमा गिद्धको मृत्युमा गिरावट आएको छ । यी औषधीले उपचार गरिएका पशु उपचारकै क्रममा वा सात दिनभित्र मरेमा औषधीको विषाक्तपन पशुको सिनो खाने गिद्धको शरीरमा सर्ने र यसले गिद्धको रगतमा युरिक एसिडको मात्रा बढाई मिर्गौलाले काम नगरेपछि गिद्ध मर्ने गरेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भूपाल नेपालीले बताउनुभयो ।
चराविद् एवं जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले सबैको लामो प्रयासपछि गिद्ध संरक्षणमा ठुलो सफलता मिले पनि विषादी समस्या भएको बताउनुभयो । गिद्ध संरक्षण गरेर विश्वसामु नेपाललाई चिनाउन सफल भएकाले भारत, पाकिस्तान, बङ्गलादेशलगायतका एसियाली मुलुक पनि यी औषधीलाई प्रतिबन्ध लगाउन सहमत भएको भन्दै उहाँले नेपाल सरकारलाई पनि गम्भीर बन्न आग्रह गर्नुभयो । सरकारको सिफारिसमा औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाउन सक्ने चौधरीले बताउनुभयो ।
गिद्धको सङ्ख्यामा सुधार
पहिले अछुत मानिने गिद्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन, डाइकोलोफेनेक नामक औषधीमा प्रतिबन्ध र गिद्धको सङ्ख्या बढाएर नेपालले ठुलो सफलता हात पारेको चौधरीले बताउनुभयो । उहाँका अनुसार हाल देशभर गिद्धका गुँडको सङ्ख्या ८०४ पुगेको छ भने १५८ वटा गुँड नवलपुरमै फेला परेका छन् । पछिल्लो तथ्याङ्कमा नेपालमा २० हजारभन्दा बढी गिद्ध गणना भएको उहाँले जानकारी दिनुभयो । नवलपुरमा जटायु रेस्टुरेन्ट (गिद्धलाई आहार खुवाउने ठाउँ) सञ्चालन गर्दा सन् २००५ मा सात प्रजातिका ७२ वटा मात्र गिद्ध थिए । सन् २०२३ मा यहाँ आठ प्रजातिका ५१७ वटा गिद्ध गणना भएका थिए ।
यहाँ हरेक पटक आहार खुवाउने बेला गिद्धको गणना गरिन्छ । अघिल्लो हप्ताको गणनामा १८३ वटा डङ्गर, हिमाली ३२ वटा, खैरो तीन वटा तथा सानो खैरो र राज गिद्ध एक/एक वटा गरी २२० वटा गणना भएका चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो समय गिद्धको सङ्ख्या केही हदसम्म बढ्नुको कारण डाइक्लोफेनेक औषधीमाथिको प्रतिबन्ध, वासस्थानमा सुधार, आहारको सहज उपलब्धता हो । त्यसैले सबैभन्दा बढी गिद्ध पाउने गण्डकी र लुम्बिनी प्रदेशलाई गिद्धका लागि सुरक्षित क्षेत्र (सेफ जोन) घोषणा गरिएको सङ्घका परियोजना अधिकृत नेपालीले बताउनुभयो ।
पर्यावरणमा योगदान
गिद्धले पर्यावरणमा विशिष्ट योगदान गर्छ । मरेका पशुको सिनो खाएर प्रकृतिलाई स्वच्छ राख्न मद्दत गर्ने भएकाले यसलाई प्रकृतिको कुचीकारसमेत भनिन्छ । परियोजना अधिकृत नेपालीका अनुसार एउटा गिद्धले सिनो सफाइमा करिब ११ हजार अमेरिकी डलर मूल्य बराबरको योगदान दिने गरेकोछ । त्यस कारण गिद्धलाई पर्यावरणीय चक्र र खाद्य शृङ्खला सन्तुलनको संवाहक मानिन्छ ।
नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले ‘अति सङ्कटापन्न’ सूचीमा राखेको छ । जसमा लामो ठुँडे, सुन गिद्ध, डङ्गर, सानो खैरो गिद्ध पर्छन् । साथै हिमाली, हाडफोर, राज गिद्ध पनि सङ्कटको नजिक रहेको चराविद् चौधरीले बताउनुभयो । नेपालमा सन् २००२ देखि घटिरहेको डङ्गर गिद्धको सङ्ख्या २०१२ पछि बढ्न थालेको हो । डङ्गर गिद्धको सङ्ख्या दुई हजार जति पुगेको अनुमान छ । सन् १९८० को दशकमा नेपालमा १६ लाखसम्म गिद्ध पाइएको चौधरीको भनाइ छ तर अहिले २० हजारभन्दा बढी गणना गरिएको छ ।
नेपाललगायत दक्षिण एसियामै गिद्धको सङ्ख्यामा अप्रत्याशित ह्रास आएपछि सन् २००३ मा वैज्ञानिकले गिद्धको सङ्ख्यामा कमी आउनुको कारण पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधी भएको पत्ता लगाएका थिए । त्यसपछि नेपाल सरकारले २०६३ जेठ २३ मा उक्त औषधीमा प्रतिबन्ध लगाएको थियो । यसका साथै अन्य औषधीमा पनि प्रतिबन्ध लगाउने हो भने यो सङ्ख्या बढाउन सकिने चराविद्को भनाइ छ ।