सिराज खान
नेपालगन्ज, वैशाख १७ गते । भेरी रकर्स स्पोर्ट्स क्लबको आयोजनामा नेपालगन्जमा सम्पन्न टी-१० नेपालगन्ज नाइट क्रिकेट प्रतियोगिताको उपाधि रोयल होम क्रिकेट क्लबले जितेको छ ।
नेपालगन्जको विशाल चोक मैदानमा बुधबार राति भएको फाइनलमा रोयल होमले इदगाह स्पोर्ट्स क्लबलाई तीन रनले हरायो । उपाधिसँगै रोयल होमले दुई लाख रुपियाँ पुरस्कार पायो । उपविजेता इदगाहले एक लाख रुपियाँ प्राप्त गरेको छ ।
पहिले ब्याटिङ गरेको रोयल होमले निर्धारित १० ओभरमा एक सय ११ रन बनाएको थियो । एक सय १२ रनको विजयी लक्ष्य पछ्याएको इदगाह स्पोर्ट्सले निर्धारित ओभरमा एक सय आठ रन मात्र बनाउन सकेको थियो ।
प्रतियोगितामा रोयल होमका हेमन्त केसी बेस्ट बलर, इदगाहका सादाब अन्सारी बेस्ट व्याट्सम्यान र आरसिसी वीरगन्जका नसरुद्दीन उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
प्रतियोगितामा विभिन्न ३२ टोलीको सहभागिता रहेको थियो । विजेतालाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानलगायतले पुरस्कार प्रदान गर्नुभयो ।