• १९ फागुन २०८२, मङ्गलबार

निर्वाचन सामग्री बोकेर मतदानस्थल पुगे कर्मचारी

blog

निर्वाचनका सामग्री बुझेर बागलुङका मतदानस्थल तर्फ जाँदै कर्मचारीहरु । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की 
काठेखोला (बागलुङ), फागुन १९ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् ।

बागलुङको सदरमुकाम बागलुङ बजारबाट मतपत्रसहितका निर्वाचन सामग्री बुझेर कर्मचारीहरु मतदानस्थल प्रस्थान गरेका हुन् ।

सोमबार मतपत्र र मतपेटिकासहितका सामग्री लिएर कर्मचारीहरु मतदानस्थलतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृत र सहायक कर्मचारी तथा सुरक्षाकर्मीको टोलीसहित सामग्रीहरू मतदानस्थलमा पठाइएको हो ।

निर्वाचन कार्यालयले मतपत्रसहित पचास प्रकारका निर्वाचन सामग्री मतदान स्थलका लागि पठाएको छ । मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, मार्कर, मतदाता नामावली, छेकाबार लगायतका मतदानका दिन आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरू मतदान अधिकृतलाई जिम्मा लगाएर पठाइएको निर्वाचन कार्यालय प्रमुख रिजालले बताउनुभयो ।

बागलुङमा एक हजार ३८० कर्मचारी निर्वाचनका लागि खटिँदै छन् ।

दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा एक सय ७ वटा मतदान स्थल र २ सय ३० मतदान केन्द्र रहेका छन् । जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र रहेको रिजालले बताउनुभयो ।

बागलुङमा पुरुष ९८ हजार ५ सय ७४ जना, महिला ९४ हजार ८ सय ६ र अन्य १ जना गरी कूल एक लाख ९३ हजार ३ सय ८१ मतदाता छन् ।