• २७ चैत २०८२, शुक्रबार

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न माग

blog

मकवानपुर समाचारदाता

मकवानपुर, चैत २७ गते । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्र सुदृढ बनाउन तिनै तहका सरकारले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभएको छ । उद्योग सङ्घ मकवानपुरको २४ औँ साधारण सभा तथा १८ औँ अधिवेशनको बिहीबार हेटौँडामा उद्घाटन गर्दै उहाँले अर्थतन्त्रलाई अगाडि बढाउन स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिने नीति लिनु आवश्यक भएको बताउनुभयो । 

उहाँले नेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने निर्णय गरेको छ भन्दै अब यसको पूर्ण कार्यान्वयन हुनुपर्ने बताउनुभयो । स्वदेशी वस्तुको अधिकतम प्रयोगलाई प्रोत्साहन गर्ने नीतिले अर्थतन्त्र बलियो बनाउने भएकाले परिसङ्घले आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी देशलाई औद्योगिकीकरणमा लैजानु पर्छ भन्ने उद्देश्यले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष बनाउनुपर्ने उहाँको माग छ । 

उहाँले देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मयूरधाप औद्योगिक क्षेत्र निजी–सरकारी साझेदारीको अवधारणमा सञ्चालन गर्नुपर्ने भन्दै चितवनको शक्तिखोर औद्योगिक क्षेत्र पनि निजी सरकारी साझेदारीको अवधारणमा सञ्चालन गर्न सरकारलाई आग्रह गरिएको बताउनुभयो । 

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले हेटौँडा औद्योगिक क्षेत्रको नेपालको अर्थतन्त्रमा महìवपूर्ण योगदान रहेको चर्चा गर्दै रोजगारी उत्पादन वृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उद्योग सङ्घका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग परिसङ्घ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष दिवस न्यौपाने, उद्योग सङ्घका पूर्वअध्यक्षद्वय माधव अधिकारी र नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल चौलागाईंलगायतले बोल्नुभएको थियो ।कार्यक्रममा सञ्चारकर्मी भावना रिजाललाई पत्रकारिता पुरस्कारसहित सम्मान गरिएको थियो । 

यसैबिच अधिवेशनले सङ्घको अध्यक्षमा श्रीहरि मास्केलाई निर्विरोध निर्वाचित गरेको छ । १५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा किशोर अर्याल, उपाध्यक्ष सुयशराज पराजुली, महासचिवमा शिरोमणि प्याकुरेल, सचिव बुद्धराज अर्याल, कोषाध्यक्षमा दिवस चौलागाईं र सहकोषाध्यक्षमा शरद्चन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यमा त्रानराज लामा, सविना सडौला, कृष्णप्रसाद न्यौपाने, लीलाचन्द्र तिमिल्सिना, प्रह्लाद घिमिरे, कुमार श्रेष्ठ र बजरङ्गसिंह तवँर निर्वाचित हुनुभएको छ ।